विवाहमा कालो कोट

विवाह गर्ने निश्चित भइसकेपछि केही विधि र प्रक्रिया पूरा गर्नैपर्छ । एकसरो कपडा र गरगहना त चाहियो नै । आपूm पनि दुलाहाजस्तो देखिनुप¥यो । मुमाले सुनको एउटा गहना (बाली) दिनु भएको थियो । दाजुहरू भारतको दिल्लीमा हुनुहुन्थ्यो । विवाह खर्च जुटाउन म दिल्ली पुगेँ । मुमाले दिएको गहना र दाजुहरूले दिएको पैसाबाट विहेको तयारी अघि बढाएँ ।
कन्चनलाई स–साना गहना बनाएँ, एकजोर कपडा किनिदिएँ । आफूलाई वकालत गर्दासमेत काम लागोस् भनेर कालो कोट र सेतो सर्ट सिलाएँ । विवाहमा लगाएको कालो कोट पछिसम्म पनि वकालत गर्दा लगाएँ । विवाहका ती कपडा अहिले पनि सुरक्षित छन् ।
विवाहमा दाजुहरूलाई बोलाएको थिएँ तर उहाँहरू आउन सक्नु भएन । जेठा दाजुको छोरा नरेन्द्र मसँगै बसेर पढ्थ्यो । घरबेटी, उनका परिवारका सदस्य र त्यही घरमा भाडामा बस्ने करिव ८-१० साथी हाम्रो विवाहका सहयोगी र जन्ती बने । जन्ती लैजान नेपालगन्ज–कोहलपुर चल्ने पछाडि पर्दा भएको सानो जिप भाडामा लिएको थिएँ ।
२०५५ फागुन २७ गते, विवाहको दिन ।
मेरा लागि यो विशेष दिन थियो । नयाँ जीवनको यात्रा तय गर्दै थिएँ । यात्रामा साथ दिन उता कन्चन प्रतीक्षारत थिइन् ।
विवाहका दिन जति नै छिटो गर्छु भने पनि ढिलो भइहाल्दो रहेछ । नेपालगन्जबाट जन्ती निस्किनै ढिला भयो । हामीलाई दिउँसो चाँडै पुग्नु थियो । एक त निस्किँदै ढिला भयो, त्यसमा पनि सानो गाडी भएकाले समयमा पुग्न सकिएन ।
कन्चनका तीन दाजुभाइ र ६ जना दिदीबहिनी थिए । कन्चन माइली थिइन् । धुमधाम बाजागाजासहित राम्रो गाडीमा जन्ती आउँछन् होला भनेर माइती पक्ष प्रतीक्षामा थिए, सायद । तर, मेरो अवस्था त्यस्तो थिएन । हामी सानो टुकटुके जिपमा आएको देखेर गाउँछिमेकीले मुखामुख गरिरहेका थिए ।
राति विवाहको कार्य प्रारम्भ भयो । विवाहको क्रममा गरिने धार्मिक तथा सांस्कृतिक विधिविधान मलाई खासै थाहा थिएन । विधि नपुगेर धेरै गल्ती भएछन्, पण्डितजी भन्दै थिए । थकाई र निन्द्राका कारण विवाह छोट्याउन हामीले पण्डितजीको समेत सहयोग लियौँ । आफ्नै विवाहमा चिटिङ गरेको सम्झिँदा अहिले पनि मलाई हाँसो लाग्छ ।
भोलिपल्ट माइती पक्षले आफैँ गाडीको व्यवस्था गरी सामानहरू पठाइदिए । अर्को गाडीमा माइती पक्षका केही सदस्य पनि सँगै आए । आज सम्झिँदा मैले विवाहको तयारी नै नगरेझैँ लाग्छ । के ठानिएछ कुन्नि, बिहे त केटाकेटीको खेलौनाजस्तै पो गर्न खोजिएछ । पूर्वतयारी, आफन्त, गाडीको उचित व्यवस्था, आवश्यक सामग्री केही पनि व्यवस्था गर्न नसकेको देखियो । बरु वागेश्वरी मन्दिरमा विवाह गरेको भए केही इज्जत बच्थ्यो कि !
पढेर मात्रै हँुदैन, अनुभव ठूलो कुरा हुँदोरहेछ । हामी जुन समाज, संस्कार र संस्कृतिमा हुर्केका छौँ, यहाँको रीतिरिवाज र प्रचलनलाई पालना गर्नुपर्ने रहेछ । विवाह वास्तवमा पवित्र बन्धन हो । विवाहका आ–आफ्नै विधि र प्रक्रिया हुन्छन् । ती सबै अवलम्बन गर्न नसक्ने भए मैले वागेश्वरी मन्दिरमै विवाह गर्न अडान लिनुपथ्र्यो । मैले आफ्नो समस्याबारे मात्र सोचेछु, घरपरिवार, समाज, धर्म, र संस्कृतिबारे नसोचेकामा मलाइ सधैँ पछुतो रह्यो ।
जे जसरी भए पनि मगनीको तीन वर्षपछि हामी विवाह बन्धनमा बाँधियौँ । विवाहसँग जोडिएका सबै चिन्ताबाट मैले मुक्ति पाएँ । जे होला देखा जाला भन्ने सोचेर अघि बढियो । नयाँ जीवनको सुरुवात भयो ।
दुलही लिएर फर्कने क्रममा पनि हामीले दुःख पायौँ । सानो जिप, त्यसमा पनि कोचाकोच थियो । अप्ठेरोसँग आइरहेका थियौँ । बर्दियाको बाँसगढीनजिक पुगेपछि जिप बिग्रियो । समय घर्किसकेको थियो । अर्को गाडीको व्यवस्था गर्न सक्ने स्थिति पनि थिएन । करिब दुई घन्टा लगाएर बल्ल गाडी चल्न सक्ने गरी मर्मत गरियो र हामी हिड्यौँ । राम्रो र अलि ठूलो गाडीको व्यवस्थापन गर्न नसक्दा त्यो सास्ती ब्यहोर्नु प¥यो । लामो बाटो छ, सानो गाडीमा आउँदा–जाँदा समस्या हुन सक्छ भन्ने हेक्का नराख्दा दुःख पाइयो ।

(नेपालगञ्जका चर्चित कानून व्यवसायी लोकबहादुर शाहद्वारा लिखित ‘चौकीदारदेखि वकिलसम्म’ नामक पुस्तकबाट लिइएको अंश हो यो । क्रियटिभ बुक्सले प्रकाशन गरेको यो पुस्तक पढ्न चाहेमा ९८५१०९३२३४ मा सम्पर्क गर्नुहोला ।)


error: यो सुविधा उपलब्ध छैन !