सुकुम्बासीको घरमै पूर्जा पुग्छ : ज्ञवाली

खजुरा – भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले सुकुम्बासीको घरमै लालपूर्जा पुग्ने बताउनु भएको छ ।
खजुरा गाउँपालिकाको आयोजनामा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पहिलेको जस्तो यो आयोगले सुकुम्बासीलाई सदरमुकाम बोलाएर दुख नदिने बताउनुभयो । उहाँले अहिले आयोगले फरक विधिबाट काम गर्ने बताउँदै स्थानीय तहसंँगको साझेदारीमा आयोगले भूमिहीन, अव्यवस्थित बसोबास गरेकालाई घरमै पूर्जा दिने व्यवस्था मिलाएको बताउनुभयो ।
भूमि सम्बन्धी ऐनको आठौं संसोधनमा कानूनी व्यवस्था भए अनुसार आयोगले नयाँ विधि र प्रक्रियाबाट काम गर्ने जनाउँदै अब पालिकास्तरमा इकाई कार्यालय हुने र स्थानीय तह प्रमुखको संयोजकत्वमा सहजीकरण समिति हुने ज्ञवालीले जानकारी दिनुभयो । पालिका उपप्रमुख सहसंयोजक हुने उक्त समितिमा राष्ट्रिय दलका प्रतिनिधि, कार्यपालिका दलित महिला सदस्य, भूमिहीन संस्थाका प्रतिनिधि सदस्य रहेको समितिले पालिकास्तरमा काम गर्ने आयोगका अध्यक्ष ज्ञवालीको भनाई थियो ।
अध्यक्ष ज्ञवालीले वडास्तरमा समेत सहजीकरण समिति निर्माण भइ सोही समितिले घरमै पुगेर विवरण संकलन गर्ने र पालिकालाई सिफारिस गर्ने, पालिकाको बोर्डले जिल्ला र जिल्लाले केन्द्रलाई सिफारिस गरेको १५ दिनभित्र उनीहरुको विवरण जिल्लामा सदर भएर आउने बताउनुभयो । उहाँले यसरी विवरण आए लगतै नापीले नक्सा र मालपोतले श्रेष्ता कायम गरेपछि फेरी पालिकामार्फत घरमै पुगेर लालपूर्जा वितरण गरिने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो । यसरी विवरण संकलनका क्रममा सिफारिस गर्नेले गलत मान्छेलाई सिफारिस गरेको खण्डमा २५ हजार जरिवाना हुने र जग्गा लिने व्यक्तिलाई १ वर्ष कैद, जग्गा लिने व्यक्तिको जग्गा जफत, १ लाख जरिवाना हुने कानूनी व्यवस्था भएको पनि अध्यक्ष ज्ञवालीले चेतावनी दिनुभयो ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा क्षेत्रका सबै राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसैवीच खजुरा गाउँपालिकामा स्थापना भएको भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालयको पनि अध्यक्ष ज्ञवालीले उद्घाटन गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !