प्रशासनमा एसीसहितको सेवाग्राही कक्ष
नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले सेवाग्राही कक्ष बनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडाबाट सहयोग लिएर प्रशासनले सुविधायुक्त सेवाग्राही कक्ष सञ्चालनमा ल्याएको हो ।
सेवाग्राही कक्षको बुधबार नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले उद्घाटन गर्नुभयो । मेयर राणाले सेवाग्राही कक्ष निर्माण भएकाले प्रशासनमा आउने सेवाग्राहीलाई सुविधा हुने बताउनुभयो ।
प्रशासनले बुधबारदेखि नै टोकन प्रणाली लागु गरेको छ । पहिला टोकन लिएका सेवाग्राही आफ्नो काम गराउन जादा पालो नआएकाहरु सेवाग्राही कक्षमा बस्नेछन् ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सेवाग्राहीमैत्री कार्यालय बनाउदै जाने क्रममा उनीहरुलाई बस्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
३६ लाख रुपैयाको लागतमा प्रशासनले सेवाग्राही कक्ष सञ्चालन गरेको छ । त्यहाँ एसी जडान गरिएको छ । गर्मीमा अति गर्मी हुने नेपालगञ्जमा सेवाग्राहीलाई एसी जडान हुनुलाई अति राम्रो मानिएको छ । प्रशासनका कर्मचारी पंखामा र बाहिरपट्टी सेवाग्राही एसीमा बस्ने अवस्थाको सिर्जना भएको छ ।