धारा छैठौ नेपालगञ्ज म्याराथनमा जोडियो एक्सन एड

 

नेपालगञ्ज – धारा छैठौ नेपालगञ्ज म्याराथनमा एक्सन एड पनि जोडिएको छ । ‘बाँच्नका लागि हिडौं’ भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगञ्ज म्याराथनमा साझेदारी गरेको हो । नेपालगञ्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ ।
नेपालगञ्जलाई देश र विदेशमा चिनाउने अभियानमा गतवर्षदेखि नै धारा तेल, आशीर्वाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक जोडिरहेका छन् । छैठौ संस्करणमा एक्सन एडसमेत जोडिदा अझ खुशीको माहोल बनेको छ ।
एक्सन एड नेपालकी महिला अधिकार संयोजक निशा लामा कार्कीले नेपालगञ्ज म्याराथनसँगको सहकार्यपछि भन्नुभयो, ‘कोरोना महामारीले मानव जीवनमा थोपरेका अनेकन चुनौतीहरुसँग जुध्ने अभियान हो, बाँच्नका लागि हिंडौं । तर, यो यतिमा मात्रै सीमित छैन । न्याय, मर्यादिन जीवन, वरपरको वातावरण र भविष्यसँग पनि यो जोडिएको छ ।’
उहाँले भन्नुभएको छ, ‘राष्ट्रिय तहमा यो अभियान विशेषतः महिला र बालिकाविरुद्ध हुने हिंसा र बलात्कारविरुद्धको आवाज हो । साथै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलामा कोभिड–१९ को प्रभावमा पनि यो केन्द्रित छ । असमानता र अन्यायको अन्त्य तथा समानता र न्यायको पक्षको आवाज पनि हो यो अभियान–बाँच्नका लागि हिंडौं ।’
जहाँ चुनौती, त्यही अवसर । कोरोनाले गर्दा देशमा आठ महिनादेखि खेलकुद ठप्प हुँदा छैठौ नेपालगञ्ज म्याराथनको तयारी अघि बढिरहेको छ । अझ टोकियो ओलम्पिकमा जाने नेपाली खेलाडीको यहीबाट छनौट हुने भएकाले नेपालगञ्ज म्याराथनको गरिमा बढेको छ । सधैंझै यसपाली पनि नेपालका ‘शीर्ष’ धावकहरु नेपालगञ्ज म्याराथनमा सहभागी हुँदैछन् । नेपालगञ्ज म्याराथनमा प्रथम हुने धावकले नेपाली राष्ट्रिय झण्डा बोकेर टोकियो ओलम्पिकमा सहभागी हुन पाउने छन् ।
पश्चिम नेपालको व्यापारिक केन्द्र, जातीय, धार्मिक तथा साम्प्रदायिक विविधताले भरिपूर्ण सद्भावको शहर हो, नेपालगञ्ज । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने अभियानअन्तर्गत नेपालगञ्ज म्याराथनलाई अघि बढाइएको छ । यो अभियानलाई सफल बनाउन नयाँ नयाँ साझेदारहरु जोडिने क्रमले हाम्रो हौसला बढेको छ ।
सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गराउन हरेक वर्ष मंसिर पहिलो हप्ता नेपालगञ्ज म्याराथन हुँदै आएको छ । कोरोनाले गर्दा प्रतियोगितात्मक यसपटक दुई इभेन्ट पुरुष म्याराथन र महिला हाफ म्याराथन हुँदैछन् । जसका विजेताले राष्ट्रिय झण्डा बोकेर टोकियो जाने अवसर पाउने छन् ।
शहरका प्रतिष्ठित व्यक्तिहरुलाई सडकमा दौडाउने हाम्रो अभियान जारी नै रहेको छ । प्रतियोगिताको अर्को आकर्षणका रुपमा कर्पोरेट रनमा शहरका हरेक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुनेछन् ।


error: यो सुविधा उपलब्ध छैन !