गोपाल अब गोपी

क्रमशः
बैङ्गलोरमा राम्रो प्रदर्शन गरेपछि प्रशिक्षक मुनब्बर अलीले बेलगाछिया युनाइटेड क्लबमा पठाए । यो फस्ट डिभिजन क्लब थियो । क्लब टालापार्कमा थियो, श्यामबजारदेखि केही अगाडि । क्लबका अध्यक्ष अरूण मित्रालाई भेट्न भनिएको थियो । टिम हेर्ने कामचाहिँ गौतम दाले गर्थे । बङ्गालीमा दा भनेको आफूभन्दा ठूलोलाई सम्मानपूर्वक उच्चारण गर्ने शब्द हो ।
कोलकाताको सियालदहमा रहेको बङ्गोबासी मर्निङ कलेजमा म स्नातक तहमा भर्ना भइसकेको थिएँ । पढ्न घरबाट कलेज पुग्न बसमा कम्तीमा एक घन्टा लाग्थ्यो, क्लब जान डेढ–दुई घन्टा । कलेज र क्लब पुग्न लाग्ने समयप्रति कुनै पर्वाह थिएन । किनभने, मनमा क्रिकेट थियो । मैले बेलगाछिया क्लबका महासचिव शेखर दासलाई भेटे । मोहम्मडन स्पोर्टिङ क्लबबाट खेलिसकेको बताएँ । त्यो सुनेपछि उनले अलि चासो देखाएर भोलिपल्टै नेट अभ्यासका लागि बोलाए । नेट सेसन एक दिनपछि थियो । बङ्गोबासी मर्निङ कलेज ११ बजेसम्म हुन्थ्यो । त्यहाँबाट म एक ठाउँमा होम ट्युसन पढाउन जान्थेँ ।
मोहम्मडन स्पोर्टिङ क्लबबाट खेलिरहँदा त्यहाँ व्यापारी लिग पनि खेलेको थिएँ । एक–दुई जना फस्ट डिभिजनका खेलाडी राख्न पाइन्थ्यो । अरू स्थानीय नै हुनुपथ्र्यो । त्यो लिगमा पनि मैले राम्रो खेलिरहेको थिएँ । सियालदहको नजिकै मानिक तलामा तिनै लिग चलाउनेका छोराछोरीलाई मैले ट्युसन पढाउँथेँ । बिहान कलेज पढ्न जान्थेँ, दिउँसो सीधैँ ट्युसन पढाउन जान्थेँ ।
ट्युसन पढाएर भ्याएपछि बाहिर नै खाना खाएर बेलगाछिया युनाइटेड क्लबमा अभ्यास गर्न जान्थेँ । पहिलो दिन मलाई बलिङ गर्न दिइयो । पछि ब्याटिङ गरेँ । चार–पाँच दिनको नियमित अभ्यासबाट उनीहरू मेरो खेल कला र क्षमताबाट प्रभावित भएको मैले चाल पाएँ । अध्यक्षले घोषणा गरे, ‘सन् १९८८÷८९ को सिजनका लागि तिमी अनुबन्धित भयौ ।’ म निकै खुसी भएँ । यति ठूलो क्लबबाट खेल्न पाउनु नै मेरा लागि ठूलो अवसर थियो ।
क्लबले अनुबन्ध गरेको खबर मैले सबैभन्दा पहिले मुनब्बरलाई सुनाएँ । उनी मेरो पहिलो क्रिकेट प्रशिक्षक थिए । त्यसपछि आमा र दिदीलाई यो खुसीको खबर बताएँ । यो खबरले क्रिकेट मैदानमा सानोतिनो खैलाबैला मच्चिएको थियो । मेरो नामै फेरिएछ, गोपालबाट गोपी । बेलगाछिया क्लबबाट खेल्न पाउँदा र स्थानीय स्तरमा समेत आफ्नो बसोबास गरेको क्षेत्रमा चर्चित हुँदै जादा वाईके चौधरी र मेरा श्रद्धेय मित्र नुर आलमले अर्को बोलाउने नाम थपिदिएका थिए, गोपी । अब मेरो गोपालबाट गोपी नामले साथीभाइका बीचमा चर्चा हुन थालेको थियो ।
नोभेम्बरमा सुरु भई फेब्रुअरीमा सकिने सो लिगमा पनि मैले राम्रै प्रदर्शन गरेँ । क्लबले ठूलो रकम त दिएन, यातायात भाडा, खाजा र आवश्यक खेल सामग्री उपलब्ध गरायो । क्रिकेट खेलेबापत यति पाउनु पनि त्यसबेला धेरै ठूलो कुरा थियो । मेरा लागि झन् नसोचेकै उपलब्धि भयो ।
दाहिने बनाउन हात डामियो
दार्जीलिङतिरका एक जना शिक्षक थिए, कुमार तामाङ । घरमा पढाउन आउँथे । दाइदिदी राम्रैसँग पढिरहेका थिए । म पनि साथमा हुन्थेँ ।
लेखपढलगायत प्रमुख काममा बायाँ हात चलाउनु अशुभ मानिन्थ्यो । राम्रा काम दायाँ हातले गर्नुपर्छ भन्ने अन्धविश्वास थियो । तर, मेरो बायाँ हात बढी चल्थ्यो । त्यसले आमालाई सधैँ पिरोलिरहन्थ्यो । बायाँहाते छोरालाई दाहिनेहाते बनाउन उनले अनेक प्रयत्न गरिन् । तर, बदलिएन । आमाले कुमार सरसँग परामर्श लिइछन् । उनले के भने थाहा छैन । तर, एक दिन कुमार सरले चिम्टा तताएर मेरो बायाँ हातको बूढीऔँला र चोरऔँलामा डामिदिए । ओहो, मलाई असह्य पीडा भयो ।
बायाँ हातका औँला डामिदिएपछि दुखाइ हुने र अर्को हातले लेख्न थाल्ने कुमार सरको बुझाइ रहेछ । औँलामा घाउ भयो, निको भयो । न मेरो दायाँ हात चल्यो, न त मेरो बायाँहाते बानी हट्यो । बायाँ हात नै सहज थियो, लेख्न र अधिकांश काम गर्न । बरू, मलाई कुमार सरप्रति घृणाभाव पैदा भयो ।
उनीसँग पढ्नै छाडिदिएँ । तिनै बायाँ हात मेरा लागि प्राकृतिक वरदान थिए । मलाई क्रिकेटमा सफल बनाउन तिनै हातले सघाए । बायाँहाते स्पिनर र ब्याट्सम्यान भएँ, जुन विपक्षीलाई सम्हाल्न सधैँ गाह्रो हुन्थ्यो ।
क्रमशः

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !