नयाँ पुस्ताः लैङ्गिक असमानताविरुद्ध
बाँके र बर्दियाका पाँच वटा पालिकाका छुट्टाछुट्टै रुपमा करीब ६५ जना किशोर-किशोरीसँग भदौ र असोज महिनामा अन्तक्र्रियाको अवसरले यो आलेख तयार गर्न उत्प्रेरित ग¥यो । आफनो २०-२५ वर्ष अघिको किशोर अवस्थाको आफ्नो र आजको पुस्ताको भोगाइमा लैङ्गिक विभेदको बारेमा धेरै परिवर्तन भएको अनुभूति भएन ।
विद्यालयमा बालक र बालिकाको समान पहँुच भए पनि विद्यालय छाड्ने धेरै किशोरीहरु भेटिए । लामो लकडाउनमा बालिकाहरुको कार्यबोझ बढेको र बालविवाहको घटना पनि बढ्दै गएको पाइयो । झण्डै तीस वर्षको यो लामो समयमा हामीले गरेको राजनीतिक, सामाजिक आन्दोलनहरु र सोबाट भएको व्यवस्था परिवर्तन पश्चात पनि लैङ्गिक समानताको गति सुस्त नै रहेको महसुश भयो । ग्रामीण परिवेशका किशोर-किशोरीमा लैङ्गिक समानताप्रतिको चासो र जागरुकता बढाउन राज्यका स्थानीय संरचनाको (विद्यालय, वडा कार्यालय र गाँउपालिका) ध्यान पुगेको देखिएन ।
पितृसतात्मक समाजमा बनेका लैङ्गिक विभेदका संरचनाका सबै पर्खालहरु देखिदैनन् र बुझिदैनन् पनि । संरचनात्मक लैङ्गिक विभेदमा मुखर भएर खुला बहस गर्ने वातावरण बनेको छैन । प्रायः पुरुषलाई रातविरात घरबाट निस्कने, घुम्ने र घर ढिलो गरि आउने स्वतन्त्रता छ र सबै महिलामाथि हुने दुव्यवहार, हिंसा प्रायः पुरुषबाटै हुन्छ । महिलालाई सुरक्षाको नाममा परिवार र समाजले रोक्छ र घरमा नै राख्छ । किन यो अभ्यासलाई बदल्न सकिदैन ? भारतीय सामाजिक अभियन्ता कमलाभासीनले उठाएको यो प्रश्नमा हामी आफ्नो घरमा छलफल गर्न सक्छौ ? भनेर सोध्दा १६ देखि २० वर्ष उमेर समूहका बाँके र बर्दियाका ती किशोर-किशोरीहरुबाट उत्साहजनक प्रतिक्रिया आएन । अनौठो प्रश्नको रुपमा लिइयो । यी र यस्ता संरचनागत विभेदमा प्रश्न गर्ने, परिवार र समाजमा छलफल बढाउने पुस्ताको समूह तयार गर्न सकिएमा मात्र लैङ्गिक विभेदका संरचनाका पर्खालहरु कमजोर बन्न थाल्नेछन् ।
छोरीलाई परिवार, समाजले इज्जत प्रतिष्ठा जोगाउने जिम्मा मात्र दिएको छैन, आफ्नो इज्जत र प्रतिष्ठा पनि छोरीलाई जोडेर हेर्छ परिवार र हामो समाजले । तर परिवार समाजको यो मान्यताले महिलामाथिका दुव्र्यहार, हिंसा र बलात्कारका घटना घटेको छ ? यो मान्यताबाट महिलाले आफनो अधिकारको प्रयोग, स्वतन्तत्रता उपभोगमा रोक लगाउन कस्तो मनोबैज्ञानिक दवाव बनाइएको छ ? यस्ता प्रश्नमा आजका किशोर÷किशोरीहरुबीच बहस सिर्जना गर्न आवश्यक छ । यस्ता बहसले परिवार र समाजमा सबै व्यक्तिको स्वतन्त्र अस्तित्व, पहिचानलाई स्विकार गर्ने मान्यताको विकासमा सहयोग पुग्दछ । बाल्यकाल, किशोरकालमा परिवार तथा समाजबाट सिकेका लैङ्गिक विभेदका सोच, मान्यता तथा व्यवहारमा परिवर्तन गर्न विश्व विद्यालय जाँदैमा, विभिन्न तहमा नेतृत्व गर्दैमा बदल्न नसकेका तथ्यहरु हाम्रो समाजमा व्याप्त रहेको छ । लैङ्गिक विभेदलाई हटाउन नीतिगत र कानूनी व्यवस्थाको कार्यान्वयन गर्दै यसका संरचनागत कारण भत्काउन निरन्तर सामाजिक आन्दोलनको पनि आवश्यकता पर्दछ । समाजको गलत सोच र मान्यतालाई बदल्ने गतिनै सामाजिक आन्दोलनमा रहेको छ ।
लैङ्गिक विभेद हामो जस्तो पितृसतात्मक समाजको सबै तह र क्षेत्रमा पाइन्छ । यसले विशेषतः महिला र यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिपर्धात्मक क्षमताको विकासलाई अवरुद्ध गरेको छ । परिवार, समाज, सार्वजनिक स्थान तथा राज्यका सबै तहमा फरक–फरक लैङ्गिक विभेदका स्वरुपहरु छन् ।
अर्कोतर्फ लैङ्गिक असमानतालाई आजको बजारले मनोरन्जनको, प्रतिश्पर्धाको नाममा बलियो र व्यापक बनाएको छ । सामाजिक आधारमा आफ्नो उत्पादन बेच्न बनाइएका कतिपय विज्ञापनहरुमा लैङ्गिक समानताको आवश्यकतालाई वेवास्ता गरिएको छ । लैङ्गिक असमानतालाई प्रश्रय दिइएको छ । टेलिभिजन, रेडियो, पत्रपत्रिका आदि विज्ञापनका माध्यम रहेकोमा पछिल्लो दशकमा सामाजिक सञ्जालको उदयले बस्तु तथा सेवाको विज्ञापन गर्न सहज र सुलभ बनेको छ । आजको पुस्ता किशोरकिशोरीहरु सबै भन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता पनि हुन् । एक टेलिभिजनमा जुत्ताको विज्ञापनमा पुरुषले जुत्ता लगाएपछि महिला पुरुषको काखमा गएर बसेको देखाइन्छ र त्यस्तै तेलको विज्ञापनमा पुरुषको कपालचम्किलो बनाएपछि महिलाले सुम्सुम्याएको देखाइएको छ । विज्ञापनमा महिलाले मात्र लुगा धोएको, खाना पकाएको दृष्यले दिने सन्देश महिलाको भूमिका चुलोचौको मात्र हो भन्ने रुढिग्रस्त सोच बाहेक केही होइन । बालबालिका वा किशोर किशोरीले यस्ता विज्ञापनबाट नै लैङ्गिक विभेद सिक्दछन् र उनीहरुलाई गहिरो प्रभाह पर्दछ ।
किशोर किशोरी लैङ्गिक विभेदको कारण यौन तथा प्रजजन् स्वास्थ्यको समस्या बढेको छ । तीस वर्ष अगाडि स्वास्थ्य शिक्षामा प्रजजन् स्वास्थ्यको पाठ पुरुष शिक्षकले पढाए केटीहरु टाउको तल गर्ने र महिला शिक्षकले पढाए केटाहरु टाउको तल गर्ने अवस्थामा आज पनि अधिकांश विद्यालयमा परिवर्तन भएको छैन । विशेषतः किशोरीहरु यौन दुव्र्यवहार, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरुबाट पीडित बनेको तथ्यांक रहेको छ । विद्यालयले बालबालिका र किशोर किशोरीलाई आज पनि राम्रोसंँग यौनकाबारेमा शिक्षा दिन सकेको अवस्था छैन । यौन शिक्षाले यौनको बारेमा सकरात्मक र सम्मानजनक दृष्टिकोण निर्माणमा सहयोग पुग्दछ । प्रविधिको पहुँच र प्रयोगसंँगै किशोर-किशोरीहरुले पुस्तक, इन्टरनेट, पोर्न साइटवा साथीहरुबाट यौनकाबारेमा आधा, अधुरो वा गलत ज्ञान आर्जन गर्न सक्ने तर्फ परिवार, विद्यालयले ख्याल राख्नु पर्दछ ।
अन्तमा किशोर-किशोरीहरु आजको पुस्ता हो । यो पुस्ताले लैङ्गिक परम्परागत विभेदलाई फाल्न, समानताका सकरात्मक अभ्यासलाई निरन्तरता दिन र नयाँ अभ्यासको निर्माण गर्न सक्छ । परिवार, समाज, विद्यालयबाट मात्र सिकाईको तरिकालाई आज प्रविधिले फेरी दिएको छ । यहि पुस्ताभोलीको समाजको नेतृत्व पनि हो । लैङ्गिक समानता बढाउन किशोरीहरुको सशक्तिकरण आवश्यक छ तर यो अभियानमा किशोरहरुलाई पनि साथसाथै अगाडि बढाउनु पर्दछ । त्यसैले आशा गरौ यो पुस्ताको क्षमता विकास, सशक्तिकरणमा लगानी बढाऔ ।