भेरी अस्पतालमा डा. केसीको अनसन
नेपालगञ्ज – आठ दिनदेखि जुम्लामा अनसनमा रहेका डा. गोविन्द केसी नेपालगञ्ज आइपुग्नु भएको छ । अहिले डा. केसी भेरी अस्पतालमा हुनुहुन्छ ।
१९ औं सत्याग्रह गरिरहनु भएका डा. केसीले जुम्लामा असुरक्षित महसुस गरी काठमाडौं जाने क्रममा नेपालगञ्ज आइपुग्नु भएको हो । भेरी अस्पतालमा एक रात बसेर भोली काठमाडौं जाने तयारी रहेको छ ।
भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले डा. केसीलाई क्याबिनमा छुट्टै राखेको जानकारी दिनुभयो ।
डा. केसीले विज्ञप्ती निकालेर भन्नु भएको छ, ‘स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी १९ औं सत्यग्राह गरेको आज आठौं दिन पुगिसकेको छ । तर, यसबीच हाम्रा मागहरु पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन । बरु उल्टै रातारात अपहरण शैलीमा हामीलाई सत्याग्रह स्थलबाट जबरजस्ती अस्पतालमा सारिएको छ ।’ विज्ञप्तीमा अगाडि भनिएको छ, दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसैखालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहीबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौ ।’