टालटुल पनि अधुरो ?
नेपालगञ्ज – अनलाइनहरुमा पटक–पटक आएको समाचार र सामाजिक सञ्जालमा स्थानीयको आक्रोशपछि नेपालगञ्जको सुर्खेतरोड खण्डको कर्णाली विकास बैंक अगाडिको खाल्टाखुल्टी मर्मत शुरु गरिएको छ । खाल्टाखुल्टी सडकलाई लामो समयपछि टालटुल शुरु गरिएपनि छेउसम्मै मर्मत नहुने भएको छ । सम्बद्ध निकायले टालटुलसमेत अधुरो गर्ने तयारी गरेका छन् ।
स्थानीयले सडकको किनारासम्मकै खाल्टाखुल्टी मर्मत गर्न दबाब दिएका छन् । मर्मतको जिम्मेवारी लिएको सडक डिभिजन कार्यालयबाट खटिएका कर्मचारीका अनुसार, जीर्ण भएको पूरै भागमा टालटुल नगरेर छेउछाउको करिव सवा दुई मिटर छोडेर मात्र टालटुल गरिने भएको छ । उनीहरुले बताए अनुसार छेउछाउको भाग सडकको हिस्सा भित्र पर्दैन । जीर्ण भएको र भत्किएको भागलाई यसरी नै अधुरो छोडियो भने त्यही ठाउँबाट सडक भत्किंदै जान्छ खतरा रहेको छ । स्थानीय बासिन्दा भन्छन्, ‘सडक डिभिजन कार्यालयको तत्काल ध्यान जाओस् ।’
सडकको किनारबाट वीच वीचमा पानी बग्ने प्वाल नछोडेको हुँदा दुबै किनारमा अलिकति वर्षात हुँदा नै पानी जम्छ र विच भएको सडक जीर्ण हुँदै जान्छ । त्यसैले किनारमा बनाइएको नालीमा पानीको निकासको व्यवस्था पनि गर्नु आवश्यक छ । हैनभने, अत्यधिक सामान बोक्ने क्षमता भएका ३२ पाँग्रेसम्मका गाडी गुड्ने उक्त सडकको अवस्था ज्यूँका त्यूँ रहनेछ । झारो टार्ने खालको नभई अलि लामो समयसम्म टिकाउनका लागि गुणस्तरीय मर्मत सम्भार गर्ने तर्फ पनि सडक डिभिजन कार्यालयको ध्यान जानु जरुरी छ ।
नेपालगञ्जको सान जमुनाहा–कोहलपुर खण्डमा निर्मित फोरलेन सडक सुर्खेतरोडको निर्माण कार्य सम्पन्न नहुँदै ठाउँ–ठाउँमा भ्वाङ परेको, खाल्डाखुल्डी र अत्यन्तै गुणस्तरहीन सडकको यो दुर्दशा कहिलेसम्म भोग्नु पर्ने हो थाहा छैन ।
वीपी चोकदेखि धम्बोझी जाने मूल बाटोमा पर्ने कर्णाली विकास बैंकको सामुन्नेको यो खण्ड खानेपानी संस्थानले करीब २ वर्ष पहिले मर्मत गर्ने क्रममा खनेर अलपत्र छोडेको थियो । यो खण्डमा दिनहुँजसो मोटरसाइकल दुर्घटना हुने गरेको छ । विशेषगरेर महिला तथा बालबालिका बढी प्रभावित हुने गरेका छन् । दिनहुँ जसो मोटरसाइकल र स्कुटी चालक महिलाहरु दुर्घटनामा पर्ने गरेका छन् ।
स्थानीयवासी वरिष्ठ पत्रकार पूर्णलाल चुकेका अनुसार, गत साता मात्र मोटरसाइकल पछाडी काखमा बच्चा लिएर बसेकी एक महिला खडकमा खसिन् । केही दिन अघि एक युवती स्कुटीमा ढलिन् र त्यही बेला सशस्त्र प्रहरीको गाडीमा आएका प्रहरीहरुले उद्धार गरेर अस्पताल पु¥याए । यस्ता घटना दिनहुँ घटिरहेका छन् । तर, यसलाई पिच गर्ने पहल कतैबाट हुन सकेको थिएन । सडककै दुर्दशाको कारण ठूला–साना गाडी गुड्दा आउने आवाजले छेउछाउका बासिन्दाको निन्द्रा पनि खोसिदिने गरेको छ ।
यो सडक खण्डको छेउछाउमा रहेका करीब ४ सय घर धनीहरुले बिना कुनै मोआब्जा झण्डै १५-२० फुटसम्म आ–आफ्ना बहुमूल्य घडेरी सडकको लागि योगदान दिएपछि वर्षौको प्रयास पछि निर्माण कार्य शुरु भएको थियो । एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको जमुनाहादेखि राँझा खण्डको उक्त सडक खण्ड निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । राँझादेखि कोहलपुरसम्मको सडक खण्डको निर्माण काम कालिका कन्स्ट्रक्सनले पाएको थियो । तुलनातमक रुपमा गुणस्तरीय सडक निर्माण सम्झौताको समयावधि भन्दा पहिले नै कालिकाले सम्पन्न गरेको थियो भने सरकार र राजनीतिक पहुँच भएका साँसद् हरि नारायण रोनियार मालिक भएको पप्पु कन्स्ट्रक्सन कम्पनीले पटक–पटक म्याद थप्दा पनि सडक निर्माण कार्य फाइनल गरिसकेको छैन ।
गुणस्तरहीन यो सडक खण्ड निर्माण गर्ने पप्पु कन्स्ट्रक्सन कम्पनी विरुद्ध स्थानीय नागरिक समाजले सडक आन्दोलन नै गरेको थियो । पहुँचवाला कम्पनी भएको कारण काम पूरा नगर्दै गयो र सडक अलपत्र अवस्थामा रह्यो । सडक डिभिजनसंँगको सम्झौता अनुसार कम्पनीले निर्माण सम्पन्न गरेको ३ वर्षसम्म सडकको मर्मत सम्भार गर्नु पर्दछ ।