मान्छेको नामै ‘पाँच सय’ !

नेपालगञ्ज – मान्छेका आ–आफ्ना नाम हुन्छन्, न्वारनमा राखिन्छ । राशीको नामलाई परिवर्तन गरेर पछि अर्को नामबाट बोलाउने गरेको पाइन्छ । राशीको नाम सबैलाई भन्नु हुँदैन भन्ने गरिएकाले हुन सक्छ ।
पहिला–पहिला कुन पदमा जागीर खाएको छ, त्यही पद अनुसार पनि मान्छेलाई चिन्ने गरिन्थ्यो । अहिले पनि मुखिया सा‘प, हवल्दार सा’प, एसपी सा’प, सिडिओ सा‘प भनेर सम्बोधन गर्ने गरेको पाइन्छ । श्रीमानले खाएको जागीरको पद अनुसार श्रीमतीलाई पनि त्यही अनुरुप सम्बोधन गरेको पनि गाउँघरतिर सुन्न पाइन्छ । यो कुनै खसालेर बोलेको होइन, उसको योगदानलाई कदर गरेको हो भन्दा फरक पर्दैन ।
तर, पछिल्लो समयमा मालपोत कार्यालयमा भने गजवको सुन्न पाइयो । जग्गा पास गर्न या कुनै कामले मालपोतमा जाने जो कोहीले यो कुरा सुन्न र जान्न पाउँछन् । त्यो के भने नि, त्यहाँका कर्मचारीका नाम पैसा अनुसार तोकिदो रहेछ । फलानो टेबुल ! ए, पाँच सय, लेखनदासहरु नै पण्डित बनिरहेका हुन्छन् । कर्मचारीको नाम वा पदबाट उनको परिचय हुँदैन रहेछ । उसले लिने अवैध रकमबाट उसलाई चिनिदो रहेछ ।
हुन पनि चलाख मान्छेले ती पाँच सय नामधारी कर्मचारीले फाइल बोकेकासँग हातले प्रष्ट इशारा गरेको देख्न सक्छन् । उसले गरेको इशारामा फाइल बोकेको व्यक्तिले ‘हा अथवा हुन्छ’ भन्ने इशारा फर्काएन भने त्यो काम रोकियो भनेर जाने हुँदो रहेछ ।
कार्यालयमा खरिदार, नासु वा अधिकृत हुन्छन् । फरक–फरक टेबुलमा बसेका हुन्छन् । कार्यालय परिसरमा उनीहरुको एउटा फाइल अघि बढाएको घुस रकमसँग जोडेर नाम राखिदो रहेछ । ‘चार ठाउँमा पाँच-पाँच सय नामधारी कर्मचारीलाई भेटी नचढाएसम्म त काम नै हुँदैन हजुर, जग्गा पास गर्न गएका सेवाग्राहीसँग लेखनदास अनुनय विनय गरिरहेको दृश्य जो कोहीले देख्न सक्छन् ।
होइन, राज्यले तलव दिएर राखेका कर्मचारीले यसरी खुलेयाम घुस खाइरहदा वा नामै पाँच सय राखिदा सम्बन्धित निकायले के हेर्छ होला ? सोझो व्यक्तिले यस्तो सोच्ने गर्दछन् । अलिकति बुझेकाले त यस्तै हो भन्दा रहेछन् । फेरि सबैलाई छिटो काम गराउनु परेको छ । छिटो काम गराउन रकम नदिइ हुँदै नहुने ‘व्यवस्था’ मिलाइएको छ । आफै फाइल बोकेर गएको व्यक्तिले छिटो काम गराउन सक्छ जस्तो लाग्दैन, बुझेका व्यक्तिले यस्तो सोच्दा पनि सोच्दैनन् ।
कतिपय बेला मालपोत कार्यालयहरुले दलाललाई निषेध गरेको पनि सुनिन्छ । दलाल र कर्मचारी एक अर्काका परिपुरक हुन् भन्ने बुझ्न चल्ताफूर्तालाई गाह्रो नै लाग्दैन, उनीहरुको व्यवहार हेरेर । अनि मलाई यो व्यक्तिले पैसा माग्यो, उसलाई कारबाही गर्न प¥यो भनेर जाने को ? उजुरी गरिहाल्यो भने पनि केही हुँदैन । फगतमा आफ्नो काम मान्छेले किन रोक्छ ? बुझेकाहरु यसो भन्दा रहेछन् ।
अझ अहिले त बाँकेमा बार अनुसार काम गर्ने नियम बनाइएको छ । पैसा दियो भने जुनसुकै बारमा काम हुन्छ, त्यो कुरा भनिरहनु पर्दैन । ‘तपाईको आज हुँदैनथ्यो, मैले भित्र कुरा मिलाएको छु’ भनेर अझ चलखेल गर्ने बाटो खुलेको छ । सेवाग्राहीको भीडभाड हुने कार्यालयमा यस्ता चलखेल भएको देखिन्छ । कर्मचारीहरु त्यस्तो कार्यालयमा जान मरिहत्ते गर्नु र केही महिनामै राम्रो सम्पति जोड्नुले सबै कुरा छर्लंङ्ग देखाउँछ । अख्तियारलाई ठूला माछा समातेन भनेर आरोप लगाउने गरेको पाइन्छ । ठूला माछामा ठूला कै मिलोमतो हुन्छ । सामान्य जनताको काम हुने कार्यालयहरुका पाँच सय नामधारीहरुप्रति पनि ध्यान दिने कि ? सानै घुस्याहालाई समाउदा ठूलो संख्यामा रहेका सानै हैसियतका मान्छे खुशी हुन्छन् भन्ने कुरा कसले बुझिदिने होला खोइ ?


error: यो सुविधा उपलब्ध छैन !