स्वास्थ्य प्रोटोकल पालनामा कडाई गरिने
नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघलगायत बस्तुगत संघसंस्थाले स्वास्थ्य प्रोटोकल कडिकडाउका साथ पालना गर्ने निर्णय गरेका छन् ।
स्वास्थ्य प्रोटोकल पालनाको हालसम्मको अवस्थाको समीक्षा गर्न नेपालगञ्ज उद्योग वाणिज्य संघले शनिवार बस्तुगत संघ संस्थासंँग बैठक गरेको थियो ।
बैठकले स्वास्थ्य प्रोटोकल अझ प्रभावकारी तरिकाले अपनाउनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो । ‘अहिले निषेधाज्ञा नभएकाले पसल, व्यवसाय सञ्चालनमा समस्या छैन । यसलाई अवसरका रुपमा लिदै स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्ने अहम् जिम्मेवारी हामीलाई आइलागेको छ,’ मन्सुरीले भन्नुभयो ।
बैठकले स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्नुपर्ने निष्कर्ष सहित प्रहरी, प्रशासनसंँग हालको भन्दा अझ सहज रुपमा व्यापार, व्यवसाय गर्ने वातावरण निर्माणका लागि अनुरोध गर्ने निर्णय गरेको छ । अध्यक्ष मन्सुरीले भन्नुभयो, ‘बजार सञ्चालनका विषयमा अन्यौलता छ भने चिर्नुपर्छ भन्ने उद्योगी, व्यवसायीका सुझावका आधारमा प्रशासनसंँग छलफल गर्ने निर्णय भएको छ ।’
मन्सुरीको अध्यक्षतामा भएको बैठकमा संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यको उपस्थिति थियो । कोभिड–१९ महामारीमा स्वास्थ्य प्रोटोकलको समीक्षा र आगामी रणनीति सम्बन्धी छलफल बैठक बोलाइएको महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।
बैठकमा बजार अनुगमन समितिका संयोजक भिम रानाभाटले बजारमा हालसम्म स्वास्थ्य प्रोटोकल पालनाको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा संघमा आवद्ध रहेको विभिन्न वस्तुगत संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधि र संघका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।