पत्रकारितामा कोरोनाको गम्भीर असर

अमन अन्सारी (नेपालगञ्ज) – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) को गम्भीर असर नेपालको पत्रकारिता क्षेत्रमा देखिएको छ ।
नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्त रुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ ।
बुधबार एक भर्चुअल समारोहमा अर्थ र सञ्चार सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नु भएको छ ।
पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिक रुपमा प्रभावित भएका छन्, जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् ।
असार २६ देखि साउन ९ गतेसम्म देशका ७ वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १ हजार १ सय ३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पु¥याएको देखाएको छ ।
सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा डा. चिन्दु श्रीधरण, बर्नमोथ विश्वविद्यालय, संयुक्त अधिराज्यले प्रतिवेदनमाथि प्रकाश पार्नुभएको थियो भने वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले टिप्पणी गर्नु भएको थियो ।
भर्चुअल समारोह एनपीआईका अध्यक्ष निलकण्ठ उप्रेतीको अध्यक्षता तथा प्रमुख अतिथि अर्थ र सञ्चार सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडा रहनु भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रेस इन्स्टिच्यूटका महासचिव वरिष्ठ पत्रकार लक्ष्मण हुमागाईंले गर्नुभएको थियो ।
कार्यक्रममा बर्नमोथ विश्वविद्यालय, संयुक्त अधिराज्यका प्राध्यापक आइनर थोर्सन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)का अध्यक्ष अमिका राजथला, वरिष्ठ पत्रकार मोहन भण्डारी लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा एनपीआईका कार्यकारी निर्देशक वरिष्ठ पत्रकार लक्ष्मण उप्रेतीले सहजीकरण गर्नु भएको थियो ।
नेपाल प्रेस इन्ष्टिच्यूट यस महत्वपूर्ण सर्वेक्षणमा सघाउने सबै पत्रकार तथा सहयोगी संस्थाहरुप्रति आभार प्रकट गर्दै आम सञ्चार शिक्षा तथा यस सम्बन्धी नीति निर्माणमा यस सर्वेक्षणले सघाउने विश्वास रहेको कुरा एनपीआईका अध्यक्ष निलकण्ठ उप्रेतीले बताउनुभयो । कार्यक्रमका सातवटै प्रदेशबाट वरिष्ठ पत्रकारहरुको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !