ह्वाइट हाउसलाई आइसोलेसन सेन्टर बनाइने
नेपालगञ्ज – कोरोना संक्रमितको संख्या बढ्दै गएकाले नेपालगञ्जमा अर्को आइसोलेसन सेन्टर बनाउने निर्णय भएको छ ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले नेपालगञ्जमा अर्को आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको हो । बैठकले बन्द रहेको ह्वाइट हाउस होटललाई आइसोलेसन सेन्टर बनाउने जनाएको छ । ग्लोबल आइएमई बैंकको ऋण लगानी चुक्ता गर्न नसकेपछि होटल बन्द रहेको छ ।
नेपालगञ्जमा हाल आदर्शनगर, आन्तरिक राजश्व कार्यालय र लायन्स डेन्टल अस्पताललाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरिएको छ । खजुराको क्यान्सर अस्पताल शुरुदेखि कोरोना विशेष अस्पतालका रुपमा सञ्चालनमा रहेको छ ।
बाँकेमा हाल ७२ जना आइसोलेसन सेन्टरमा रहेका छन् । त्यसमा ६२ जना बाँके जिल्ला र १० जना यहाँ काम गर्ने कर्मचारी छन् । समुदायस्तरमा कोरोना देखिदा नेपालगञ्जमा अर्को आइसोलेसन सेन्टरको आवश्यकता भएको हो ।