राप्तीसोनारीमा साउन १५ देखि स्कूल सञ्चालन हुने

नेपालगञ्ज – कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित राप्तीसोनारी गाउँपालिकाले आगामी साउन १५ गतेबाट बिद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।
राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, प्रधानाध्यापकलगायत सहभागी भएको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कुनै विषम परिस्थिति नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर बिद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो । ‘कुनै विषम परिस्थिति आएन भने अथवा सरकारले केन्द्रबाट कुनै नीति निर्देशन पठायो भने छुट्टै पाटो हो, नत्र हामीले साउन १५ गतेबाट बिद्यालय खोल्ने निर्णय गरेका छौं,’ उहाँले भन्नुभयो ।
गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि अधिकांश वडामा बिद्यालयका भवनलाई क्वारेन्टाइन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो । बिद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग भएका बिद्यालयलाई स्यानिटाइज गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनु भयो ।
उक्त गाउँपालिका क्षेत्रमा ५४ वटा सामुदायिक र १६ वटा संस्थागत बिद्यालय सञ्चालनमा छन् ।


error: यो सुविधा उपलब्ध छैन !