१३ नम्बरको वडा भेला

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ ले शनिबार वडा भेला गरेको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेटमा योजना छनौट सहितका छलफलहरु भएका छन् ।
करिव ९४ लाखको बजेट सिलिङ पाएकाले बजेटको सिमितता भित्र योजना बनाउनुपर्ने बाध्यता रहेको वडा अध्यक्ष बिरन्द्रबहादुर शाहले बताउनु भयो । विकासका लागी वडामा गठन भएका टोल विकास समितिमार्फत योजना छनौटको काम भइरहेको कार्यक्रममा जानकारी गराइएको छ ।
पूँजीगत योजनाबाट कटौती गरेर कोरोना भाइरस संक्रमण नियन्त्रणमा १२ लाख ५० हजार छुट्याइएको समेत जानकारी दिइयो । छुट्याइएको उक्त बजेटमा ९ लाख बराबरको रकम खर्च भएको छ ।
चालु बर्ष २०७६-०७७ को आय व्ययको विवरण वडा सचिव मदनबहादुर रावतले भेलामा पेश गरेका थिए । नगरपालिकाले वडाको बजेट सिलिङ उपलब्ध गराएसँगै वडाले वडा भेला आयोजना गरेको हो ।
कार्यक्रममा नेकपाका स्थानीय सहभागी मुखबहादुर शाहले योजना छनौटमा वडावासीहरुका समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । कोभिड–१९को विषम महामारीका कारण ढिलागरी भएको वडा भेला तथा छलफलमा सहभागी भएकाहरुले आ–आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए । सामाजिक दुरी र उपस्थित संख्यालाई ख्याल गर्दै कार्यक्रम आयोजना गरिएको थियो ।
छलफल भेलामा विभिन्न राजनीतिक दल, सर्वसाधारण र विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !