नरैनापुरमा बल्यो बत्ती

नेपालगञ्ज – बाँकेको नरैनापुरमा बत्ती बलेको छ ।
पोल गाडेको अढाई दशक बित्दा समेत अन्धकारमै रहेको नरैनापुर गाउँपालिकामा मंगलबारदेखि विजुली बत्ती बलेको हो ।
प्रदेशसभा सांसद कृष्णा केसी नमुनाले कट्कुइँयास्थित ट्रान्सर्फमरको स्विच अन गरेर औपचारिक उद्घाटन गर्नुभयो । विभिन्न बाधा व्यवधान र अप्ठेराका बीच कछुवा गतिमा अघि बढेको विद्युतीकरण कोरोना कहरसँंगै तीब्र बनेको थियो । कोरोनाको चपेटामा पर्दा विजुली नहुँदाको पीडा भोगेको नरैनापुरमा तत्काल विद्युत लैजानुपर्ने दबाबका बीच पछिल्लो समय तीब्र गतिमा काम भएको थियो । जेठको पहिलो साताबाट थालिएको पहलले एक महिनामै मूर्तरुप पाउँदा नरैनापुरमा बत्ती बलेको हो ।
त्यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद नमुनाले नरैनापुरमा विजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले नरैनापुरलाई उज्यालो बनाउन गरेको मेहनत पूरा भएको बताउनुभयो । विभिन्न अप्ठेरा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उहाँले पक्की सडक र विजुली पुगेपछि अब नरैनापुर दुर्गम नरहेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बर्षौंदेखिको नरैनापुरबासीको विजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुसी भएको बताउँदै अब सिंचाईसंगै उद्योगधन्दाको विकास गर्न बाटो खुलेको बताउनुभयो ।
लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि अब अस्पतालका रुपमा विकास गरी सेवा सुविधासम्पन्न बनाउन सहज हुने भन्दै उहाँले हिजोका कहालीलाग्दा दिन फेरिएर नरैनापुर विकासपथमा लम्किएको बताउनुभयो । सबैको पहल, प्रयास र हातेमालोले नरैनापुरमा ढिलै भएपनि विजुली पुग्दा स्थानीय निकै हर्षित भएको अध्यक्ष शाहले बताउनुभयो ।
क्षेत्रीय विद्युत प्राधिकरण केन्द्र, नेपालगञ्जका प्रमुख मुनिन्द्र ठाकुरले विजुली नहुँदा कोरोना कहरमा नरैनापुरले भोगेको पीडा देखेर आफूले लकडाउनकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताउनुभयो । आइसोलेसन सेन्टर बनाउने भनिएको लक्ष्मणपुर स्वास्थ्य केन्द्रसम्म जसरी भएपनि तत्काल विजुली लैजाने अठोटले मूर्तरुप लिँदा यो सम्भव भएको उहाँले बताउनुभयो । जेठ दोस्रो सातादेखि मटेहियाबाट कट्कुइँयासम्म पोल गाड्ने र तार तान्ने काम शुरु गरेर सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । अब मुख्य लाइनबाट गाउँगाउँमा विजुली पुर्याउन काम गरिने बताउँदै उहाँले गरिब विपन्नलाई निःशुल्क लाइन जडान गरिदिने बताउनुभयोे ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोनाबाट मुक्ति पाएको नरैनापुरमा नयाँ युगको सुरुवात भएको बताउनुभयो ।
नेकपाका जिल्ला सचिव अशोक कोइरालाले सबैको प्रयासले नरैनापुरले काँचुली फेर्दै गएको बताउनुभयो । त्यस अवसरमा भैरव प्रसाद गण राँझाका गणपति प्रमुख सेनानी नकुल थापा, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, प्रशासन तथा जिन्सी शाखा प्रमुख भरत महतो लगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !