नाकाबाट सिधैं घर ?

नेपालगञ्ज – भारतबाट नेपालगञ्ज नाका हुँदै नेपालीहरु भित्रिरहेका छन् । कोरोना कहरले भारतमा रहेका नेपालीहरु घर फर्किरहेका छन् ।
लकडाउनका बीचमा सरकारले भारतबाट आएका नेपालीलाई घर फर्किने व्यवस्था मिलाएर राम्रो काम गरेको छ । तर, पछिल्लो केही दिनयता नाकामा घर फर्किनेलाई पठाउने काम व्यवस्थित हुन सकेको छैन । सुरक्षा निकायले भारतबाट आएकालाई छोटी भन्सार परिसरमा जम्मा गर्ने र सम्बन्धित जिल्ला पठाउने गरेका छन् । नेपालगञ्ज र आसपासका मानिसहरु भने भन्सार परिसरमा नगई आफ्नै पाराले सिधैं घर तर्फ गइरहेको पाइएको छ ।
सरकारले भारतबाट फर्केकालाई नाकाबाट आ–आफ्नो जिल्लामा पठाउने र क्वारेन्टाइनमा राख्ने नीति लिएको छ । भारतबाट फर्किने अन्यत्र जिल्लाका मानिसको हकमा त्यही भइरहेको छ । नेपालगञ्ज र आसपासका मानिसहरु सुरक्षाकर्मीको नजरमा नपर्दा उनीहरु सिधैं घर गइरहेका छन् । जसलाई कोरोनाको जोखिम मानिएको छ । खासमा नेपालगञ्जका मान्छे भारतबाट आएका छन् भने उनीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर राख्ने गरिएको छ । यसमा सोझा मान्छेमात्रै परेको पाइएको छ । क्वारेन्टाइनमा बस्न मन नलागेकाहरु नाकाबाट खुसुक्क घरतिर जाने गरेका छन् ।
सरकारले आउन दिएकै छ । प्रायः कर्णाली प्रदेशका मानिसहरु आउने भएकाले उनीहरु हिडेर जान नसक्ने र गाडी नै चाहिदा उनीहरु गाडी भएको ठाउँमा गइहाल्छन् भन्ने सुरक्षा अधिकारीहरुको बुझाई देखिन्छ । नेपालगञ्ज र आसपासका मानिसले त्यसको फाइदा लिएका छन् । क्वारेन्टाइनमा नबसी सिधैं घर गइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !