मृतक परिवारलाई सहयोग
नेपालगञ्ज – कोरोनाबाट मृत्यु भएका युवकको परिवारलाई नरैनापुर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
अध्यक्ष इस्तियाक अहमद शाह मृतक युवकको घर वडा नम्बर ५ नयाँ बस्ती पुगेर परिवारलाई क्रिया खर्च स्वरुप ५० हजार रुपैयाँको चेक प्रदान गर्नुभएको हो । मृतक युवकका बुवा, आमा र श्रीमतीलाई उहाँले चेक हस्तान्तगरण गर्नुभएको हो । ‘अहिलेलाई क्रिया खर्च स्वरुप ५० हजार दिएका हौं, अब मृतकको परिवारलाई घर बनाउन गाउँपालिकाले ३ लाख रुपैयाँ दिन्छ,’ अध्यक्ष शाहले भन्नुभयो, ‘बालबच्चाको लागि मैले पनि व्यक्तिगत ५० हजार रुपैयाँ दिन्छु ।’
पीडित परिवारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष शाहले बताउनुभयो । ‘यो नराम्रो घटनाले हामी सबैको मन रुवाएको छ, यो दुःखको घडीमा मनलाई सम्हाल्नुस्, म हरेक पल तपाईंहरुसँगै छु,’ अध्यक्ष शाहले पीडित परिवारलाई सान्त्वना दिँदै भन्नुभयो, ‘अब यी दुई बालबच्चाको भविष्य राम्रो बनाउन लाग्नुपर्छ, त्यसका लागि म हरपल सहयोग गर्न तत्पर छु ।’
अध्यक्ष शाहले खाद्यान्न, तेल, नुन, दाल, झुल लगायतको राहत सामग्री पनि मृतक युवकको परिवारलाई प्रदान गर्नुभएको थियो । त्यस अवसरमा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, गाउँपालिकाका योजना शाखा प्रमुख विजय यादव, प्रशासन प्रमुख भरत महतो, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायत हुनुहुन्थ्यो ।
गत जेठ ४ गते क्वारेन्टाइनमै बसेका बेला वडा नम्बर ५ नयाँ बस्तीका २५ बर्षीय युवकको मृत्यु भएको थियो । मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो । भारतको मुम्बईबाट आएका उनी भगवानपुरको दिपेन्द्र प्रावि क्वारेन्टाइनमा थिए ।