दुई वटा चाबी लिएर हिडेपछि…

नेपालगञ्ज – प्रहरीले मोटरसाइकल रोक्यो । चाबी पनि थुत्यो । केहीबेरमा चाबी बोकेर प्रहरीको अप्रेसन टोली अन्तैतिर हिड्यो । साइडमा रोकिएका मोटरसाइकल पनि एक–एक गर्दै घट्दै गयो ।
चाबी प्रहरीले लग्यो । तर, मोटरसाइकल एक–एक गर्दै गयो । कसरी ? छेउमा बसेर हेरिरहेका मानिसहरु दंग परे । प्रहरीले एउटा चाबी पो लगेको थियो । लकडाउनमा हिड्ने सवारी चालक त अर्को पनि चाबी बोकेर हिड्दा रहेछन्, ‘एक पे एक फ्रि’ भनेजस्तो ।
प्रहरी चाबी बोकेर यति वटा मोटरसाइकल यो ठाउँमा छ भनेर मख्ख । यात्रीहरु प्रहरीले लगेको चाबी भोली लिनु पर्ला भन्दै अर्को चाबीले मोटरसाइकल चलाएर गन्तब्यतिर । हेर्दा लाग्यो, जस्तो प्रशासनको कडाई, उस्तै यात्रुको चतु¥याई । दुई वटा चाबी नभएका ‘विचरा’मात्रै प्रहरीको बाटो कुर्दै बस्दा रहेछन् । यस्ताको संख्या थोरै हुँदोरहेछ, दशमा दुई वटा ।
चलाख मान्छेका कुरा नै बेग्लै । हुन त उनीहरुलाई यो लामो लकडाउनले सिकाएको पाठ हो, त्यो । काम परिनै हाल्छ । बाटोमा निस्किदा प्रहरीले मोटरसाइकलको चाबी थुत्छ । त्यो भन्दा त दुई वटा चाबी बनाउने, एउटा प्रहरीले लगेपनि अर्कोले मोटरसाइकल स्टार्ट गरेर गन्तब्यतिर जाने । प्रहरीलाई पनि काम देखाएजस्तो भयो, सवारी चालक पनि गन्तब्यमा पुगे । वाह रे भाइ, चलाख मान्छेका चलाखी दिमाग ।
बाँके प्रशासनले ११ देखि तीन बजेसम्म अत्यावश्यक कामका लागि बाहिर निस्किन दिएको छ । तर, पैदल । बाटोमा चाहि दिनभरी नै पैदलभन्दा सवारी चलाउने यात्रीको चाप नै बढी देखिन्छ । चाहे त्यो पास बोकेका हुन् वा दुई वटा चाबी बोकेका । यसले प्रशासन र यात्रु दुवैलाई ‘वीन–वीन’कै स्थितिमा पु¥याएको छ भन्दा फरक पर्दैन कि कसो ?


error: यो सुविधा उपलब्ध छैन !