चर्को घाममा राप्रपाको चर्का नारा

नेपालगञ्ज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), बाँकेले संसदमा दर्ता भएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव तत्काल पारित गर्न माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाउदै राप्रपाले भनेको छ, ‘देश भन्दा माथि केही हुन सक्दैन, यो विषयमा ढिलासुस्ती गर्ने होइन, सर्वसम्मत रुपमा संशोधन प्रस्ताव पास गर्न आग्रह गर्दछौं ।’
सरकारले नेपाली भूभाग लिम्पियाधुरा, लेपुलेक कालापानी समेटिएको नयाँ नक्सा पुनः जारी गरेर निशान छाप परिवर्तनका लागि संसदमा लगेको प्रस्ताव प्रक्रियामै रहेको छ । राप्रपा बाँकेले चर्को घाममा सडकमा राष्ट्रियताको नारा लगाउदै संसदमा विचाराधीन रहेको प्रस्ताव तत्काल पारित गर्न माग गरेको हो ।


राप्रपाले कोरोना परीक्षणको दायरा बढाउन पनि जोडदार माग गरेको छ । उसले कोरोनाको नाममा बाहिर आएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेको छ । कोरोनाविरुद्धको अभियानमा सरकारी संयन्त्रको काम अव्यवस्थित, प्रभावहीन र अपारदर्शी देखिएको राप्रपाको आरोप छ । राप्रपाले छुवाछुत, भेदभाव अन्त्यका लागि महत्वपूर्ण कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।


राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, नेताहरु नरेन्द्र पौडेल, ओमप्रकाश आजाद, सलाउद्दिन जसगढ, ऋषिराज देवकोटालगायतका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयबाट निस्केर त्रिभुवनचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई ज्ञापनपत्र बुझाएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !