नरैनापुरका तीन जनाको रिपोर्ट पोजिटिभ तर निर्देशिका अनुसार ‘डिस्चार्ज’

नेपालगञ्ज – बाँकेको नरैनापुरमा शुरुवातमा कोरोना देखिएका आठमध्ये पाँच जनालाई पनि आइतबार घर पठाइएको छ । यो लटका तीन जना यसअघि नै घर आइसकेका छन् ।
कोरोना पुष्टि भएको २३ दिनपछि पाँच जनालाई घर पठाइएको छ । घर पठाइएका पाँचमध्ये दुई जनाको नेगेटिभ रिपोर्ट र तीन जनाले ‘निको’ भएको प्रमाणपत्र बोकेर आएका छन् । सिधा भाषामा भन्दा तीन जनाको पछिल्लो रिपोर्ट पनि पोजिटिभ नै रहेको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार तीन जनालाई पनि घर पठाइएको हो । निर्देशिकाले १४ दिनसम्म आइसोलेसनमा बसेका व्यक्तिलाई रिपोर्ट पोजिटिभ भएपनि घर पठाउन भनेको छ । १४ दिनपछि भाइरस बृद्धि नहुने र नसर्ने विश्वास गरिन्छ ।
नरैनापुरका यी पाँच जना कोरोना विशेष अस्पताल, बेलझुण्डी दाङमा थिए । अस्पतालका हेल्थ असिस्टेन्ट द्रोर्ण वलीले दुई जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । उहाँले तीन जनाको रिपोर्ट पोजिटिभ भएपनि उनीहरुमा कुनै लक्षण नभएको बताउनुभयो । ‘स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार पाँचै जनालाई घर पठाइएको छ,’ वलीले भन्नुभयो ।
रिपोर्ट पोजिटिभ रहेकालाई गाउँमा अप्ठेरो पर्न सक्नेतर्फ ध्यान दिदै अस्पतालले सन्चो भएको प्रमाणपत्र दिएर पठाएको छ । सबैलाई १४ दिनसम्म घरमा बस्न, बाहिर घुलमिल नगर्न निर्देशन दिएर पठाइएको छ । कुनै लक्षण देखिएमा सम्पर्क गर्न भनिएको छ ।
बाँकेमा भने १४ दिन बसेपनि पोजिटिभ रिपोर्ट आएकोलाई घर पठाउने गरिएको छैन । बेलझुण्डीबाट पाँच जनालाई पठाइएसँगै बाँकेका ५१ जनाले कोरोनालाई जितेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !