आधारभुत कक्षा र व्यवसायीक शिक्षा

कोभिड –१९ को संत्रास फैलिएको र हालसम्म उपचार फेला नपरेको अवस्थामा बचाउको लागी गरिएको बन्दाबन्दी (लकडाउन) विश्वमै अनौठो र नौलो प्रयास हो । यसवाट जोगिन सुरुसुरुमा त सबैलाई विश्राम पाए जस्तो लाग्यो तर वास्तवमा अति सर्वत्र बर्जयेत भने जस्तै भएको छ । अर्थात अत्याधिक विश्राम पनि व्यक्तिलाई सुपाच्य नहुँदो रहेछ ।
विद्यार्थीहरु, शिक्षकहरु, विद्यालय कर्मचारी, व्यापारी, पेशाकर्मीहरु आदि घरमै थुनिएर बस्दा कतिपयमा मानसीक विक्षिप्तता समेत देखिन थालेको छ । जेहोस् केही पालिकाहरु, एनजिओ, आइएनजिओ, शिक्षकहरु र उनीहरुका विभिन्न संघ संगठनको पहलमा प्रारम्भ भएका भर्चुअल क्लासहरुले केही मात्रामा भए पनि शिक्षणलाई बचाई राख्ने जमर्को गरेको छ तर भर्चुअल क्लासको अघि र पछि फेरी त्यही अन्योलतामा उनीहरु बाँच्न बाध्य छन् । त्यही क्रममा फेसबुकमा कसैले मित्र राष्ट्र चिनकी एउटी बालिकाले तामाको मसिनो तारबाट विविध आकृतीहरु बनाई रहेको पोष्ट गरेको पाएँ । ती बालिकाले त्यति सुन्दर कलालाई अत्यन्त छिटो बनाउथिन् । जसले उनी यो काममा अभ्यस्त छन् अर्थात विद्यालयमै सिकेकी हुन् भन्ने कुराको पृष्टी हुन्थ्यो । त्यो दृश्य देखेर मलाई हिनता बोध भयो । अनि केही आफ्ना केही शिक्षा नीतिका अव्यवहारीक र अपरिपक्व योजनाबारे सोचेर ग्लानीको अनुभूति भयो । आज हामीले हाम्रा बालबालीकाहरुलाई सिपयुक्त शिक्षा.दिन नसकेकोमा बडो पश्चाताप र ग्लानीको अनुभूत हुनु स्वभाविक छ ।
त्यसो त केही बर्ष यतादेखि गैरसरकारी संघ, संस्थाहरुले विद्यालयका कुनै एक शिक्षकलाई केही दिनको तालीम दिएर अतिरितm समयमा जीवन उपयोगी शिक्षा दिने गरेको पाइन्छ । तर त्यसबाट सिकाई अनि उसको प्रभावकारीता भने शून्य छ । किनभने १० देखि ४ बजे विद्यालयमा अध्ययन गर्ने समय हो । त्यो समयमा सरकारले निर्धारित गरेको विषय पढ्ने र पढाउनै पर्ने बाध्यता छ । ६ घण्टाको मेहेनत पश्चात शिक्षक र विद्यार्थी दुबैलाई भोक र थकान हुनु पनि मानविय पक्ष हो । तर थकित अनि भोको पेटमा यस्ता कार्यक्रम गर्नै पर्ने बाध्यताले गर्दा यसको प्रभावकारीता बारे पाठक बर्गले आफै अनुमान गर्न सक्नुहुन्छ ।
त्यस पछि सरकारको अर्को शिक्षा सम्बन्धी कार्यक्रम ः आधारभुत कक्षा अर्थात कक्षा ६,७ र ८ मा पेशा व्यबसाय र प्रविधि विषय । सरकारको यो नीति अत्यन्त सुन्दर र स्वागत योग्य छ । आधारभुत कक्षा उत्तीर्ण गरेका बालबालीकाले कुनै न कुनै व्यबसाय गरेर जीवन यापन गर्न सकुन् भन्ने यसको मनसाय हो । यसको नीति र कार्यक्रम जति सराहनीय छ तर व्यावहारीक पक्ष त्यतिकै हचुवापूर्ण छ । कारण फेरि पनि एउटा शिक्षकलाई सामान्य तालिम दिएर वा तालिम बिनानै शिक्षण गर्न लगाइएको छ । सकारको नीति अनुसारनै शिक्षकलाई दैनिक ५ घण्टी अर्थात हप्ताको २९ पिरीयड शिक्षण गर्नु पर्ने हुन्छ । अनि बचेका २ पिरीयडमा विद्यार्थीहरुको कक्षाकार्य एवं गृहकार्य पनि त हेर्नु पर्ने बाध्यता छ । पेशा व्यवसाय र प्रविधि विषय मात्र होइन कम्प्युटरकै पनि यस्तै यस्तै हाल छ । विद्यालयको कुनै शिक्षकलाई तिन महिने तालीम दिएर कम्प्युटर शिक्षण गराउनु भनी शिक्षा निकायबाट प्र.अ. लाई निर्देशन दिइएको पाइन्छ । त्यति मात्र होइन, महत्वपूर्ण कुरो त के हो भने जुन विषयमा राम्रो ज्ञान छैन त्यो विषय शिक्षकले कसरी शिक्षण गर्ने ? औपचारिकता पुरा गर्नु एउटा कुरा हो । त्यसबाट विद्यार्थीको सिकाई कत्तिको प्रभावकारी होला सम्बन्धीत सबै पक्ष गम्भीर हुन आवश्यक छ । अझ स्पष्ट भन्नु पर्दा यी र यस्तै निर्णयहरुले शिक्षा माथी कति अन्नयायपूर्ण व्यवहार भैरहेकोे छ भन्ने कुरा पृष्टी हुन्छ । तर कम्प्युटर आजको साक्षरताको प्रमुख माध्यम भइसकेको अवस्थामा विज्ञ शिक्षकबाट प्रयोगात्मक विधि प्रयोग गरी सिकाउनु पर्छ ।
त्यस्तै पेशा व्यवसाय र प्रविधिक शिक्षाबारे संक्षेपमा जानकारी दिने प्रयास गरेकी छु । यसमा विज्ञ शिक्षकहरुबाट विद्यार्थीहरुलाई स्वयम् सक्रियतापूर्वक कार्य गर्न लगाई अवलोकन गराएर सिप प्रदान गर्नु पर्ने हुन्छ । यसो गर्न सके मात्र यो नीतिको सार्थकता पुष्टी हुनुका साथै यसले विद्यार्थीहरुको जीवनमा पनि राम्रो प्रभाव पार्न सक्ने थियो । त्यति मात्र नभई पढ्दा पढ्दै आफै कमाउन सक्ने हुन्थ्ये होला । जसले विद्यालयमा अनुपस्थिति हुने, बिचैमा अध्ययन छाड्ने प्रबृत्ति पनि समाप्त हुने थियो । साथै उनीहरुमा काम प्रतिको सम्मान बढ्ने थियो भन्ने मेरो बुझाई छ ।


error: यो सुविधा उपलब्ध छैन !