हटस्पटमा खुशी छाउँदै

नेपालगञ्ज – जेठ दुई गते नरैनापुरमा खैलाबैला मच्चियो । एकैपटक आठ जनामा कोरोना संक्रमण देखियो । त्यसअघि नेपालगञ्जमा मात्रै कोरोना देखिएको थियो ।
आठ जनालाई कहाँ राख्ने छलफल हुँदै थियो । त्यहीबेला दाङको बेलझुण्डी आइसोलेसन अस्पतालमा बिरामी ल्याउन नदिने भनेर सम्बन्धित गाउँपालिकाका प्रमुखले विज्ञप्ती निकालेपछि चौतर्फी विरोध भइरहेको थियो । बाँकेका आठ जनालाई त्यही लगियो ।
नरैनापुरका आठ जनाको बेलझुण्डी उपचार गरियो । आठ जनामध्ये तीन जना शुक्रबार कोरोना जितेर गाउँ फर्किएका छन् । नरैनापुर १, ३ र ५ नम्बर वडाका १८, १५ र २० वर्षका किशोरहरु अस्पतालबाट हातमा फूलको गुच्छा लिएर बिदाई भए । कोरोना जितेका यी तीन जनालाई गाउँमा ल्याइयो ।
कोरोनाको हटस्पट बनेको नरैनापुरमा यसले केही खुशी थपेको छ । गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले तीन जनाले कोरोनालाई जितेर आउदा खुशीसँगै हौसला थपेको बताउनुभयो ।
त्यही नरैनापुर हो, जहाँबाट संक्रमित ल्याउन अवरोध भयो । संक्रमितलाई भगाइयो । संक्रमितलाई नेपालगञ्ज लगेपछि के के गर्छन् भनेर अफवाह फैलाउनेहरु तीन जनाले कोरोना जितेर आउदा पक्कै खुशी भएर आफूहरुले गल्ती गरेको अनुभूति गर्दै होलान् ।
नरैनापुरमा कुरा यतिमै कहाँ रोकियो र ? जिल्ला प्रशासनले निषेज्ञित क्षेत्र घोषणा गरेको छ, सेनाको उपस्थिति गराएर वातावरणलाई सहज बनाएको छ । नेपाली सेनाका सेनानी सुरेशकुमार श्रेष्ठको कमाण्डमा ४५ जना नेपाली सेनाको टुुकुडी गंगापुरको जयकिसन माविमा बसेको छ । सेनाको उपस्थिति पछि नरैनापुर शान्त हुँदै गएको छ । अहिले त त्यहाँ विजुलीको काम थालिएको छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन सेन्टर बनाउन अथक प्रयास भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको जिल्ला आएको दोस्रो दिनमै नरैनापुर जानुले पनि केही न केही सकारात्मक सन्देश दिएको छ । यसै सबै हुँदै गर्दा तीन जनाले कोरोना जितेर आउदा त्यहाँका मानिसमा फरक अनुभूति हुनुपर्छ । संक्रमित लिन जादा अवरोध गर्ने र भगाउने ठूलो समूहका मानिस उनीहरु कति सुरक्षित छन् भन्ने अहिलेको अहम् प्रश्न बनेको छ ।
नरैनापुरमा अहिले भारतबाट आउनेको संख्या घटिरहेको छ । गाउँपालिकाको नाकाबाट भित्र्याउन रोकिएको छ । १३ वटा क्वारेन्टाइनमा एक सय ९४ जना बसेका छन् । सबैको पीसीआर जाँच गर्ने काम भइरहेको छ । संक्रमित एक सय १३ जना निको भएर घर फर्किने क्रम शुरु भइसकेको छ । समग्रमा भन्नु भन्दा नरैनापुर कोरोना अघिको स्थितिमा फर्किदैछ । कोरोनाको कहरले विद्युतीकरणको काम छिटो हुँदैछ, यसलाई अलिकति फाइदा मान्ने कि ?


error: यो सुविधा उपलब्ध छैन !