क्याम्पसमा किन खैलाबैला ?

नेपालगञ्ज – नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा रहेका एकजनामा पीसीआर पोजिटिभ र १६ जनामा आरडीटी पोजिटिभ देखिएको छ ।
क्याम्पसमा रहेका नेपालगञ्ज–१० का २८ वर्षीय पुरुषमा पीसीआर पोजिटिभ देखिएपछि उनीसँगै बसेका १२ जनाको स्वाव लिने तयारी भएको छ । दुई दिनअघि ८५ जनाको पीसीआर जाँच गर्दा एकजनामा पोजिटिभ देखिएको थियो ।
क्याम्पसमा बिहीबार एक सय ४५ जनाको आरडीटी जाँच गरिएको थियो । त्यसमध्येमा १६ जनामा पोजिटिभ देखिएको छ । संक्रमितको सम्पर्कमा रहेका १२ र आरडीटी पोजिटिभ देखिएका १६ जना गरी २८ जनाको पीसीआर जाँचका लागि स्याम्पल लिने तयारी भएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा भारतबाट आएका नेपालगञ्जका मानिसलाई राखिएको छ । त्यहाँ अहिले ३ सय २७ जना बसिरहेका छन् । जसमा २ सय २५ जना पुरुष र एक सय २ जना महिला छन् । एकजनामा पीसीआर पोजिटिभ र १६ जनाको आरडीटी पोजिटिभ देखिएपछि क्याम्पसमा केहीबेर खैलाबैला भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !