विपन्नलाई खाद्यान्न सहयोग, क्वारेन्टाइनमा घरको खाना

 

खजुरा – खजुरा गाउँपालिकाले क्वारेन्टाइनमा बस्नेलाई घरबाटै खाना पु¥याउने व्यवस्था गरेको छ । अन्य पालिकामा पालिकाले नै खाना दिइरहेको बेलामा खजुराले घरबाटै खाना ल्याउने व्यवस्था गरेको भन्दै केहीले आलोचना गरे ।
तर, खजुराको व्यवस्थापन उत्तम ठहरिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका आफन्तीलाई घरबाटै विहान र बेलुका खाना पुग्दा घरमै बसेकोजस्तो अनुभूति हुन्थ्यो । घरबाट बनेर आउने सफा र ताजा खाना आउदा क्वारेन्टाइनमा बस्ने खुशी नै भएका छन् ।
क्वारेन्टाइनमा रहेका व्यक्तिलाई खाना खुवाउनबाट गाउँपालिका पन्छिएको होइन । खाली घरबाट पकाएर ल्याउने व्यवस्था मिलाएको हो । जसको घरमा खाद्यान्न छैन, उसलाई सम्बन्धित वडाले खाद्यान्न दिने व्यवस्था गरेको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खाली घरबाट पकाएर ल्याउनेमात्रै भनेको हो, जसको घरमा खाद्यान्न छैन, उसलाई पालिकाले सहयोग गर्ने बताउनुभयो । ‘घरको सफा र ताजा खाना आउँछ । घरकै खाना खान पाएर क्वारेन्टाइनमा बसेकाहरु खुशी छन्, अध्यक्ष कक्षपतिले भन्नुभयो, पालिकाले सबै निगरानी गरिरहेको छ । जसलाई समस्या छ । उसलाई सहयोग गर्छौ ।’
खाना बोकेर आउने मान्छेमार्फत घरसम्म कोरोना संक्रमण पुग्छ भन्ने एकथरीको आरोप थियो । त्यसमा गाउँपालिकाले उच्च सावधानी अपनाएको अध्यक्ष कक्षपतिले बताउनुभयो ।
खजुरा त्यो पालिकाको हो, जसले जिल्लामा सबैभन्दा पहिला क्वारेन्टाइन बनायो । अन्य पालिकाले सुरसार नगर्दा खजुराले क्वारेन्टाइन बनाइसकेको थियो । जतिबेला भारतबाट ह्वार–ह्वार्ती नेपालीहरु फर्किसकेका थिएनन् । तेस्रो मुलुकबाट मात्रै फाटफुट रुपमा नेपालीहरु आइरहेका थिए ।
पालिकालाई स्थानीय युवाहरुले पनि साथ दिए । तेस्रो मुलुक तथा भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा बस्नु पर्छ भनेर सम्झाए । घर आइपुगेका परदेशीलाई पहिला क्वारेन्टाइनमा बस्नु पर्छ भनेर आग्रह गरे । राधापुरमा क्वारेन्टाइनमा खजुरा अगाडि बढ्यो ।
अध्यक्ष कक्षपतिका अनुसार, २५ वटा स्कूलमा क्वारेन्टाइन बनाइएको छ । ६ सय ९५ जना त्यहाँ बसेका छन् । भारतबाट फर्किनेको चाप बढ्दै गर्दा खजुराले आइसोलेसन सेन्टर पनि बढाउनु पर्छ भन्नेमा लाग्यो । उसले जनक शिक्षा सामाग्री केन्द्रमा ४० बेडको आइसोलेसन सेन्टर बनाउन लाग्यो ।
कोरोनाविरुद्धको अभियानमा खजुराले बेलैमा धेरै काम ग¥यो । त्यसो त क्यान्सर अस्पताललाई आइसोलेसन अस्पताल बनाएर खजुराले अझ काम देखाउने अवसर पायो । कुशलतापूर्वक काम ग¥यो । नरैनापुरमा कोरोना पुष्टि भएपछि कोहलपुरका स्थानीयवासीले उनीहरुलाई पिपरीमा राख्न नदिन आन्दोलन गरिरहदा खजुराले उदार दिलले संक्रमितको स्वागत गरिरहेको थियो ।
खजुरामा ३१ जना संक्रमित पुगेका छन् । भारतबाट फर्किने बढ्दै गर्दा स्कूलहरु भरिन्छन्, त्यसपछि कहाँ राख्ने भन्ने पनि खजुराका अध्यक्ष योजना बनाइसक्नु भएको थियो । अध्यक्ष कक्षपतिका अनुसार, खजुरामा तीन हजार व्यक्ति घर फर्किने आकलन गरिएको छ ।
घर फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा बसाउने र खानाको अभाव भए खाद्यान्न सहयोग गर्ने रणनीति बनाएर नै घरबाट खाना ल्याउने व्यवस्था मिलाइएको खजुराका युवा नेता भीम वलीले बताउनुभयो । नेकपाका नेतासमेत रहेका वलीका अनुसार, खजुरामा स्थानीय सरकारको काममा पार्टी काँधमा काँध मिलाएर अघि बढेको छ । अन्यत्र नदेखिएपनि खजुरामा पार्टीले स्थानीय सरकारलाई सहयोग गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !