अब ‘गिभ एण्ड टेक’
नेपालगञ्ज – पछिल्लो दुई दिनमा बाँकेको पूर्वी नाकाबाट दुई सय ९८ जना नेपाली भित्रिएका छन् । थप ३० जना भित्रिने तरखरमा छन् ।
नरैनापुर र डुडुवाको नाकाबाट धमाधम नेपाली भित्रिरहेपछि सम्बन्धित गाउँपालिका, स्थानीय प्रशासन तनावमा परेको छ । भारतका विभिन्न शहरमा रहेकाहरु भारतमा रेल चलेपछि धमाधम घर फर्किरहेका हुन् ।
पूर्वी नाकाबाट भित्रिएकाहरुलाई नरैनापुर र डुडुवा गाउँपालिकाले विभिन्न ठाउँमा क्वारेन्टाइन बनाएर राखेको छ । नाकामा प्रहरीले रोकेपनि अन्ततः उनीहरुलाई नेपालभित्र प्रवेश दिइएपछि अरु पनि थपिनेक्रम बढ्दो रहेको छ ।
यो समस्या जिल्लाको पूर्वी पालिकाको मात्रै होइन, समग्र जिल्ला हुँदै अन्यत्रको समेत देखा पर्ने आकलन भइसकेको छ । सीमावर्ती भारतीय शहरका क्वारेन्टाइनमा पाँच सय बढी नेपाली रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउनुहुन्छ । उहाँका अनुसार, अहिले आएका क्वारेन्टाइनमा बसेका होइनन्, उनीहरु भागेर आएका हुन् ।
त्यसो हो भने क्वारेन्टाइनमा बसेकाहरु पनि अब फर्किन सक्छन् । बाँकेका विभिन्न ठाउँको क्वारेन्टाइनमा डेढ सय बढी भारतीय छन् । उनीहरुको ‘आरडीटी’ जाँच भइसकेको छ । उनीहरुलाई स–सम्मान भारत पठाएर उता क्वारेन्टाइनमा बसेकालाई नेपाल ल्याउदा के हुन्छ ? हवल्दारपुर र महेन्द्र बहुमुखी क्याम्पसलगायतका ठाउँमा भारतीयहरु छन् । उनीहरुलाई पठाउदा त्यहाँ खाली हुन्छ । भारतको क्वारेन्टाइनमा रहेकालाई यता ल्याएर त्यहाँ राख्दा राम्रो हुन सक्छ । प्रमुख जिल्ला अधिकारी खड्काले ‘गिभ एण्ड टेक’का लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । ‘हामी तयार छौं । केन्द्रको निर्णय पर्खिरहेका छौं, प्रजिअ खड्काले भन्नुभयो ।
भारतबाट बाँकेका र बाँके हुँदै विभिन्न जिल्लामा जाने ठूलो संख्यामा नेपाली फर्किने आकलन गरिएको छ । यस्तो बेलामा आएका जति सबैलाई त्यसै घर जाने दिने कि क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरेर पठाउने अधिकारीहरुले छिट्टै निर्णय लिनु पर्ने बेला भएको छ । सांसद, बाँकेका प्रशासक, सुरक्षा अधिकारी, जनप्रतिनिधिहरुले कम्तीमा पनि जिल्लावासीका लागि क्वारेन्टाइन बनाउन जरुरी छ । त्यसको अलावा नाका भएकाले अन्यत्र जिल्लाका बासिन्दा आउदा कस्तो व्यवस्थापन गर्ने सोच्नु पर्ने बेला आएको छ ।