भारतविरुद्ध राप्रपाको प्रदर्शन

नेपालगञ्ज – राप्रपाले नेपालगञ्जमा प्रदर्शन गरेको छ ।
भारतले गरेको सीमा अतिक्रमणको विरोधमा राप्रपासम्बद्ध युवा–विद्यार्थीले वीपीचोकमा प्रदर्शन गरेका छन् ।
राप्रपाका युवा नेता ऋषिराज देवकोटाले भारतले पटक–पटक सीमा अतिक्रमण गरिरहेकाले सीमानामा काँडेतार लगाउन माग गर्नुभयो । ‘यतिबेला सम्पूर्ण देशभक्त, राष्ट्रवादीहरु एकजुट भएका छन् । यो बेलामा सरकारले भारतसँग सीमानाको विवाद मिलाउन वारपारको निर्णय गर्नुपर्छ, देवकोटाले भन्नुभयो, सीमानाका काँडेतार र पर्खाल लगाउनु पर्छ ।’
भारतले लिपुलेकमा मानसरोबर जाने बाटो बनाएपछि यतिबेला देशभक्तहरु आन्दोलनमा छन् । भारतले नेपाली सीमा अतिक्रमण गरेर सेनालाई राखिरहेको र त्यसलाई हटाउन विरोध भइरहेका बेलामा नेपाली भूमि भएर बाटो बनाएपछि नेपाली आक्रोशित छन् । यसको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ ।
राप्रपाले सम्पूर्ण देशवासीको सरकारलाई पूर्णसमर्थन रहेकाले सीमा विवाद सदाका लागि व्यवस्थापन गर्न माग गरेको हो । युवा नेता देवकोटाले सीमाको विवादमा पटक–पटक अल्झिनु भन्दा एकैपटक काँडेतार लगाएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । झण्डै एक घण्टाको प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै देवकोटाले यसपाली भारतको छलछाममा नपरी सीमानाको विवाद मिलाउनु पर्नेमा जोड दिनुभयो ।
भारत र चीनले सन् २०१५ मा नेपालसँग समन्वय नगरी सम्झौता गरेपछि त्यसलाई टेकेर भारतले नेपाली भूमिलाई आफ्नोतिर पारेर नयाँ नक्सा बनाउने मात्रै होइन, नेपाली भूमिबाट सडक नै बनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !