जनप्रतिनिधिको कोरोना परीक्षण
नेपालगञ्ज – कोरोना भाइरसको जोखिमका बीचमा निरन्तर फिल्डमा खटिएका जनप्रतिनिधिहरुको कोरोना परीक्षण थालिएको छ ।
नेपालगञ्जमा पर्याप्त किट आएसँगै जोखिममा मानिएका जनप्रतिनिधिकोसमेत कोरोना परीक्षण थालिएको हो । शनिबार प्रदेश सांसद मो. याकुव अन्सारी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, कोरोना संक्रमित ८ नम्बर वडाका अध्यक्ष सुरेन्द्र गुप्ता, ११ नम्बरका उज्वलसिंह राठौर, १२ का बुद्धिसागर सुवेदी र १३ नम्बरका वडाध्यक्ष वीरेन्द्रबहादुर शाहको स्वाव लिइएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । चन्दका अनुसार, अरु जनप्रतिनिधिको पनि क्रमशः स्वाव लिइनेछ ।
चैत्र १० गते भारतबाट नेपाल आएका आठ सय बढीलाई जमुनाहा नाकामा पुगेर महेन्द्र बहुमुखी क्याम्पससम्म ल्याउनेदेखि चैत्र १९ गते नाकामा आइपुगेका एक सय ८१ जनालाई २३ दिनसम्म दशगजामा टेन्ट बनाएर राख्ने काममा नेपालगञ्जमा मेयर, उपमेयर खटिएका थिए । त्यही क्याम्पसबाट निस्केर हिडेका ६ सयमध्येका नेपालगञ्जका ६० वर्षीयमा कोरोना देखिएपछि वडा नं. ८ मा २३ जना थपिएका छन् ।
कोरोनाविरुद्धका अभियानका साथै टोलटोलमा राहत बाँड्दा जनप्रतिनिधिको उपस्थिति हुने गरेको थियो । नेपालगञ्जमा बिरामी नभईकन एक्कासी कोरोना देखिएकाले वडा, टोलका विभिन्न व्यक्तित्वहरुसँग सम्पर्कमा रहेका जनप्रतिनिधिहरु जोखिममा रहेको बताउने गरिएको थियो । जनप्रतिनिधिसँगै प्रहरी र स्वास्थ्यकर्मीको कोरोना परीक्षण आवश्यक रहेको बताइएको छ ।
यसैबीच, शनिबार एक सय ७२ जनाको स्वाव लिने काम भइरहेको छ ।