एकै दिन हजारको परीक्षण तयारी

नेपालगञ्ज – नेपालगञ्जमा एकै दिन हजार जनाको स्याम्पल संकलन गरेर परीक्षणमा लैजाने तयारी भएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन दुई हजार टेष्ट किट र एक हजार भीटीएम पठाएको छ । एउटै वडामा २३ र नजिकको अर्को वडामा एकजना संक्रमित देखिएपछि सरकारले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले एकै दिन हजार जनाको स्याम्पल संकलन गरेर परीक्षण गर्न सरकारले निर्देशन दिएको बताउनुभयो । ‘हामीकहाँ एक हजार भीटीएम आएको छ । भेरी अस्पतालमा दुई हजार टेष्ट किट आएको छ, फोकलपर्सन श्रेष्ठले थप्नुभयो, सरकारले दिनमा हजार जनाको स्याम्पल संकलन गरेर परीक्षण गर्न निर्देशन दिएको छ । थप हजार भीटीएम पठाउने बताइसकेको छ ।’
भेरी अस्पताल, नेपालगञ्जमा दिनमा सय जनासम्मको परीक्षण हुने बताइएको छ । शनिबार एकै दिन हजार जनाको स्वाव संकलन गरेमा काठमाडौं लैजानका लागि आर्मीको हेलिकोप्टर नेपालगञ्जमै राखिएको छ ।
पर्याप्त टेष्ट किट र भीटीएम आएकाले क्वारेन्टाइन, मन्दिर र मस्जिद तथा संक्रमितको सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्ने तयारी भएको छ ।
नेपालगञ्जमा २४ जनामा कोरोना देखिएपछि धेरै भन्दा धेरै जनाको परीक्षण गर्न जनस्तरबाट माग बढेको छ ।


error: यो सुविधा उपलब्ध छैन !