बजार अनुगमन, मसला नष्ट

नेपालगञ्ज – संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको बसपार्कस्थित एक पसलबाट म्याद नाघेको मसला नष्ट गरेको छ ।
नेपालगञ्जको भाटभटेनी सुपरमार्केट, त्रिभुवनचोक र बसपार्कमा खाद्यान्न पसलमा अनुगमन गरेको थियो । त्यसक्रममा बसपार्कको मेची–काली सप्लायर्समा म्याद नाघेको मसला पाइएपछि त्यसलाई नष्ट गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्ण पौड्यालले जानकारी दिनुभयो ।
टोलीले चामल, पिठो, चिनी, दाल, नुनमा हुन सक्ने कालोबजारीलाई ध्यानमा राखेर अनुगमन गरेको थियो । पौड्यालले यी खाद्यान्नमा कालोबजारी भएको नपाइएको बताउनुभयो ।
अनुगमनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त पौड्याल, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका गणेश कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका नेत्रा बोगटी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमलगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !