३१ स्याम्पल नेगेटिभ, थप २३ पठाइयो
नेपालगञ्ज – कोरोना भाइरस जाँचका लागि बाँकेबाट एकैपटक २३ जनाको स्याम्पल काठमाडौं पठाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठका अनुसार, २३ वटा थप स्याम्पल पठाइएको र त्यसको नतिजा भोलीसम्ममा आउन सक्छ ।
जिल्लाबाट अहिलेसम्म पठाइएका मध्ये ३१ वटा स्याम्पलको नतिजा नेगेटिभ आइसकेको छ । क्वारेन्टाइनमा बसिरहेकाहरुको धेरै भन्दा धेरैको स्याम्पल संकलन गरेर पठाउन थालिएको हो । दशगजामा बनाइएको क्वारेन्टाइनलगायत अन्य पालिकामा समेत भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरु बसिरहेकाले उनीहरुको स्याम्पल संकलन गर्दै पठाउने काम भइरहेको छ ।
बाँकेका विभिन्न क्वारेन्टाइनमा अहिले ४ सय २७ जना बसिरहेका छन् । भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि छोटी नाकाहरुमा सशस्त्र प्रहरीले कडाई थालेको छ । एक एक किलोमिटरको दुरीमा सशस्त्र प्रहरीलाई राखिएको छ । भारतबाट नेपाल भित्रिन रोकिएको छ ।