प्रेस लेखेको ज्याकेटको दुरुपयोग…

नेपालगञ्ज – बाँकेमा पत्रकारहरुलाई पास लिएर हिड्ने व्यवस्था मिलाइएको छ ।
प्रेस लेखेको ज्याकेटको दुरुपयोग गर्दै रिपोटिङका नाममा अनावश्यक हिड्ने, चोकचोकमा भिड लाग्ने गरेको व्यापक गुनासो आएपछि नेपाल पत्रकार महासंघ, बाँकेले उपलब्ध गराएको पास लिएर हिड्न दिइने व्यवस्था मिलाइएको सचिव तिलक गाउँलेले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोनाविरुद्धको तयारी बैठकमा पत्रकारको व्यापक गुनासो आएको सचिव गाउँलेले बताउनुभयो । महासंघले प्रकाशन बन्द भएको सञ्चार गृहका पत्रकारलाई पास नदिने स्पष्ट पारेको छ । टिभीका हकमा दुई जना, अनलाइन र रेडियोको हकमा एकएक जनालाई पास दिइने भएको छ ।
महासंघले पत्रकारहरुलाई आचार संहिता भित्र बसेर काम गर्न अनुरोध गरेको छ । आचार संहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले गरेको लकडाउनको पालना गर्दै सुरक्षित तवरले रिपोटिङ गर्न महासंघले आग्रह गरेको छ । बाँके प्रहरीले महासंघले उपलब्ध गराएको पास नलिएकालाई रोक्ने जनाएको छ ।
यसैबीच, प्रहरीले लकडाउनको पालना गराउन कडा रुपमा प्रस्तुत हुने जनाएको छ । नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी पनि आजदेखि कडा रुपमा प्रस्तुत हुने निष्कर्ष निकालिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !