विपन्न परिवारले पाउने भए राहत

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका विपन्न परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार, आइतबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने ब्यक्तिको वडा कार्यालयले तथ्यांक संकलन गरि पहिचान गरेर तत्काल खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो । विपन्न ब्यक्तिहरुलाई चामल, पिठो, दाल, नुन, आलु, तेल र साबुन उपलब्ध गराइने छ । लकडाउनका कारण समस्यामा परेका ब्यक्तिलाई राहत उपलब्ध गराउन लागिएको हो ।
बैठकले प्रत्येक वडामा खाद्यान्न पसल सञ्चालन तथा ठेलागाडामा तरकारीको बिक्री वितरणको ब्यवस्थापनका लागि वडा कार्यालयलाई जिम्मेवारी दिएको छ । बैठकले भारतबाट आएका ब्यक्तिलाई सम्भव भएसम्म क्वारेन्टाइनमा राख्ने र नभए घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाउने निर्णय गरेको छ ।
तेस्रो मुलुकबाट आएका ब्यक्तिको बारेमा प्रशासनमा जानकारी गराउने निर्णय गर्दै बैठकले वडाबासीसँग कुनै ब्यक्तिको सूचना भएमा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । वडास्तरमा क्वारेन्टाइन स्थापनाका लागि स्थान पहिचान गर्ने निर्णय गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भित्रिन नदिन उच्च सावधानी अपनाउँदै बैठकले नगरक्षेत्रमा दुईवटा टास्कफोर्स जुनसुकै बेला परिचालन हुने गरि राख्ने निर्णय गरेको छ ।
बैठकले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा उपलब्ध गराउने निर्णय गरिएको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो । बैठक नगरप्रमुख डा. धवलशमशेर राणाको अध्यक्षमा बसेको हो ।


error: यो सुविधा उपलब्ध छैन !