नेपालगञ्जियाले यी खलासीबाट केही सिक्ने कि ?

नेपालगञ्ज – मालबाहक ट्रकमा नेपालगञ्ज आइपुगेका हुन्, फोटोमा देखिएका चार जना । उनीहरु भारतीय हुन् । ट्रकका सामान्य स्टाफ । भनौ, हेल्फर (खलासी) ।
नेपालगञ्ज नाकामा ट्रक रोकिएपछि उनीहरु एक–एक गरेर झरे । भन्सारमा इन्ट्री गर्न अघि बढे । केही मिटरको दुरीमा उभिएर पालैपालो इन्ट्री गरे । तीन फिट टाढा बस्ने कुरा उनीहरुलाई थाहा थियो । सबैले मुखमा माक्स लगाएका थिए । आफू पनि बचौ र अरुलाई पनि बचाऊ भन्ने उनीहरुको कामले देखायो ।
सामान्यतः थोरै पढेका मान्छेले गाडीमा खलासी गर्छन् भनिन्छ । त्यस्तो देखिन्छ पनि । तर, यी चार जना भारतीय ट्रकका खलासीले नेपालगञ्जियाहरुलाई राम्रै सन्देश दिएका छन् । अनावश्यक सडकमा लखरलखर हिड्ने नेपालगञ्जियाले यी खलासीबाट केही सिक्ने कि ?
सरकारले लक डाउन गरेको ‘दिउँसो घाममा घरभित्र बस र साँझ परेपछि शीतलमा रोडमा हिड’ भन्नको लागि त होइन । अझ हेर न पान खान हिडेको रे ! दिउँसोभरी घरमा बस्दा अत्यास लागेर एक छिन निस्किएको रे !
होइन, यी मनुवाले बाहिर हिड्दा आफू संक्रमित भइहालेमा घरपरिवार र समाजलाई नै असर गर्छ भन्ने बुझ्न किन नसकेको ? ती खलासी मित्रको जत्ति बुद्धि त लगाउनु पर्ने नि ! चीन, इटाली, स्पेन, अमेरिकामा यति मरे, उति मरे भनेर गफ गर्नेहरु नै सडकमा निस्केका देखिन्छन् । सरकारले त्यसै जनतालाई भित्र बस्न भनेको हो र ? भित्र बस्दा सुरक्षित भइन्छ । आफूमात्रै होइन, अरुलाई पनि त्यसको फाइदा पुग्छ भन्दा जान्ने पल्टिएर रोडमा निस्किनु पर्ने ? प्रहरीलाई विभिन्न बहाना बनाएर रोडमा हिड्दा छाती ठूलो हुने हो र ?
कोरोनाको जोखिम हुन नदिने डिउटी प्रहरीको मात्रै होइन नि । सीमाको जिल्ला हो, बाँके । भारतमा संक्रमितको संख्या बढिरहेकाले यहाँ जोखिम बढ्दो नै छ । अझ भारतमा काम गर्न जाने नेपाली फर्किरहेका छन् ।
जोखिम घटाउन सबै लाग्नु पर्नेमा प्रहरीले लाठी नहानेसम्म सडक खाली नहुने भयो त ? स्थानीय प्रशासनले यसको शुरुवात पनि गरेको छ । सवारी साधनको चाबी थुत्ने र अनावश्यक हिड्नेलाई लखेट्ने नीति सफल हुने देखिन्छ । भारतमा प्रहरी लाठी हानेरै सफल भएको हो कि क्या हो ? एकथरीले यसरी पनि हेरिरहेका छन् । सम्झाउदा नमान्ने ज्याद्रो नेपालीलाई लाठीको भाषा पनि सिकाउनु पर्ने अवस्था आउने नै भयो । घरभित्र बस भन्दा पनि यस्तो आपत । हरे ! नेपालगञ्जियाहरु ।


error: यो सुविधा उपलब्ध छैन !