एक्सनमा जादै प्रहरी, सुरक्षा बैठक बस्दै

नेपालगञ्जमा हिजो साँझ देखिएको भीड । तस्बिर साभार भाइराजाको वालबाट ।

नेपालगञ्ज – सरकारले घोषणा गरेको ‘लकडाउन’ र स्थानीय प्रशासनले भनेको ‘जनता कर्फ्यु’ बाँकेमा कुनै बन्दजस्तो भएपछि स्थानीय प्रशासन कडा रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।
दिनभरी नै फाटफुट हिडिरहेका जनता साँझ ५ बजेपछि ह्वार्रर सडकमा निस्किएपछि आजदेखि प्रहरीले एक्सन लिने तयारी गरेको हो । बाँकेका एसपी वीरबहादुर ओलीले आजदेखि प्रहरी एक्सनमा उत्रिने चेतावनी दिनुभयो ।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किनुस् भनेर अनुरोध गर्दा नमानेपछि प्रहरीले अब सवारी साधनको चाबी थुत्ने, सडकमा हिड्नेलाई थुन्नेसम्मको विषयमा छलफल गरिरहेको छ । अनावश्यक बाहिर निस्केका मान्छेलाई दिनभरी थुनेर राख्दा नै सजाय हुने अधिकारीहरुले छलफल गरेका छन् ।
तर, यसका लागि प्रहरीलाई समस्या परिरहेको छ । कोरोना भाइरस छुदा सर्छ । सडकमा निस्केका मान्छेलाई थुन्नका लागि समात्नु पर्छ । समात्दा प्रहरी आफै जोखिममा पर्न सक्छ । ब्यारेकमा बस्ने प्रहरी एकजनालाई मात्रै संक्रमण भएमा अझ स्थिति जटिल हुन सक्ने अधिकारीहरुले विश्लेषण गरिरहेका छन् । किनकी सडकमा खटिने प्रहरी आवश्यक सामाग्रीविहीन नै रहेको छ ।
सडकमा देखिएको मान्छेको भीडपछि स्थानीय प्रशासकलाई चौतर्फी दबाब बढेको छ । दिनभरी रोकेर के गर्नु साँझ त बन्द खुलेकोजस्तो गरी मानिसहरु सडकमा ओइरिएका छन् । आवश्यक परेकालाई दिनमै पनि एक्लै हिडेर गएर सामान किन्ने व्यवस्था गर्दा राम्रो हुन्छ ताकि एकै समयमा सबैजना एकै ठाउँमा नजाऊन् । विहान ७ देखि ९ र साँझ ४ देखि ६ बजेसम्म व्यवस्थित गरेर सामान किन्ने व्यवस्था मिलाउने कि ?
केही दिन अघि भारतबाट फर्किएकाहरु विहान चार बजेदेखि रुपैडिहाको सडकमा पलेटी कसेर बस्दा बोल्नु त परै जाओस् हल्लिएका पनि थिएनन् । त्यही व्यक्ति नेपाल प्रवेश गरेपछि आन्दोलनकै मुडमा देखिए । क्याम्पसमा पुगेपछि पर्खाल नाघेर हिडे । यो घटनालाई प्रत्यक्ष देखेकाहरु भन्छन्, प्रहरी एक्सनमा नजादासम्म सम्झाएको भरमा कसैले मान्नेवाला छैनन् ।
यसैबीच, केहीबेरमा बस्ने सुरक्षा बैठकले कसरी जाने भन्ने बारेमा निर्णय गर्ने बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !