तरकारीको थोक र खुद्रा मूल्य टाँसिने
नेपालगञ्ज – तरकारीको मूल्य आकाशिएको गुनासोसँगै रानीतलाउ तरकारी तथा फलफूल मण्डी समितिले थोक र खुद्रा मूल्य टाँस्ने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले आव्हान गरेको बैठकमा समितिले खरिद मूल्यसमेत टाँस्ने जनाएको छ । तरकारी मण्डीमा हुने गरेको भीडभाडलाई कम गर्न सम्बन्धित वडा कार्यालय र समितिले व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
दिनभरी लकडाउनमा बसेका मानिसहरु साँझ परेपछि सडकमा निस्केर अधिकांश तरकारी मण्डीमा पुग्ने गरेको पाइएको छ । सबै जना एकैपटक जादा भीड बढेकाले वडा–वडाबाट ठेलामा तरकारी बेच्ने व्यवस्थापन गर्ने कि भन्ने विषयमा पनि छलफल भएको छ । यद्यपि, निष्कर्षमा पुगिएको छैन ।
तरकारी मण्डी रहेको वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र गुप्ताको अध्यक्षतामा भएको बैठकमा समितिका अध्यक्ष मोतीसरा खड्का सहितका ब्यवसायी, उपमहानगरपालिकाका प्रशासन प्रमुख शरद पौडेल, वाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालयका वेदेश्वर गौतमलगायतको सहभागिता रहेको थियो ।