वडा कार्यालय, रानीतलाउ, महेन्द्र पार्क, नगर बस बन्द

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।
आइतबार बसेको आकस्मिक बोर्ड बैठकले नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । बैठकले भीडभाड हुने रानीतलाउ, महेन्द्र पार्क, चाट पसलहरु बन्द गर्ने निर्णय गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । नेपालगञ्जमा रानीतलाउ र महेन्द्र पार्कमा आन्तरिक तथा बाह्य पर्यटक जाने गर्दछन् । यी दुवै ठाउँ १५ दिनसम्म बन्द गर्ने निर्णय भएको छ ।


उपमहानगरपालिकाले १५ दिनसम्म नगर बस बन्द गर्ने र भाडा मिनाहा गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले ७ वटा नगर बस खरिद गरेर ठेक्का सञ्चालन गरिरहेको छ । मेयर डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्यकर्मीहरुलाई उपकरण लगायत अत्यावश्यक सामाग्री तत्काल खरिद गर्ने, सबै वडाले थ्री लेयरको मास्क निर्माण गर्न लगाई वितरण गर्ने, विपन्न समुदायका लागि साबुन वितरण गर्ने, नगर क्षेत्रमा ससाना नालाहरु सफा गर्ने, चुना लगाउने र घाँस सफा गर्ने, कोरोना भाइरसबाट नगरवासीलाई सुरक्षित राख्न विभिन्न प्रचारात्मक अभियान चलाउने, वडाहरुमा हेल्थ डेस्क राख्ने, सरसफाईकर्मीहरुले अनिवार्य मास्क र ग्लोव लगाएर काम गर्ने, कोरोना भाइरस पूर्व तयारीका लागि स्थापित कोषमा सहयोगका लागि सम्पूर्ण उद्योगी व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !