कोहलपुरमा एकै दिन तीन दुर्घटना
नेपालगञ्ज – कोहलपुरमा बिहीबार बिहान बस र अटोरिक्सा ठोक्कियो । अटोरिक्सा चालक जयबहादुर रोक्काको मृत्यु भयो । भे १ ख २१२९ नम्बरको बससँग भे १ ह १६५३ नम्बरको अटोरिक्सा ठोक्किएको थियो ।
अटोरिक्सामा चार जना थिए । सबै घाइते भए । घाइतेमध्ये अटोरिक्सा चालक बैजनाथ–२, मकैबारीका रोक्काको मृत्यु भयो । जयबहादुरको मृत्युपछि कोहलपुरमा तनाव भयो । सडक जाम गरियो ।
कोहलपुरमा गएराती दुई वटा दुर्घटना भए । त्यसमा पनि एकजनाको मृत्यु भयो । अर्को दुर्घटनामा एकजना गम्भीर छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका अनुसार, गएराती सवा नौ बजे सम्झनाचोक नजिक मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएको थियो । भे ६ प ७२४१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री दिलबहादुर पुनको मृत्यु भएको हो । मोटरसाइकलमा सवार सौकत अन्सारी र कयुम साह घाइते छन् ।
राती नै जानकी–६, गनापुरमा मिनि ट्रकले पैदलयात्रीलाई ठक्कर दियो । क ०२००१ ख ००९५ नम्बरको मिनि ट्रकले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको नाम, ठेगाना खुल्न सकेको छैन । उनको मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ ।
बुधबार विहान पिपरीमा टिप्परले ठक्कर दिंदा रामपति थारुको मृत्यु भएको थियो । यी तथ्यांकले सडक असुरक्षित रहेको देखाइरहेको छ ।