को हुन् जलेका व्यक्ति ?
नेपालगञ्ज – इन्द्रपुरमा रहेको जय सियाराम मेनुफैक्चरिङ इन्ड्रस्टिज प्रालीमा आगो लाग्दा जलेका व्यक्तिको सनाखत हुन सकेको छैन ।
शवको बाया हात र शरीरको पछाडीको भागमात्रै रहेको छ । रातभरी लागेको आगो निभाइसकेपछि सफा गर्ने क्रममा शव फेला परेको थियो । बाँके प्रहरीले शवलाई भेरी अस्पताल, नेपालगञ्जमा लगेर राखेको छ । उद्योगमा राती को–को सुतेका थिए भन्ने खुल्न नसक्दा शवको सनाखत हुन सकेको छैन ।
उद्योगमा राती सुतेका अर्का दिलिपकुमार चमार घाइते भएका छन् । चमारले पनि को सुतेका थिए, कसको जलेर मृत्यु भयो बताउन सकेका छैनन् । उद्योगमा कति कामदार थिए । उनीहरुमध्ये को चाहि सम्पर्क आएको छैन भन्ने बुझ्ने काम भइरहेको छ ।
चप्पल, पोछा र ट्वाइलेट ब्रस बनाउने उद्योगमा रातदिन काम हुन्थ्यो । मंगलबार होली परेकाले रातीका कामदार आएका थिएनन् । रातीमा प्रायः मेसिन चलाउने कामदारहरु रहने गरेको बुझिएको छ । जलेको व्यक्ति पनि त्यहीमध्येको हुन सक्ने आशंका गरेर अनुसन्धान थालिएको छ ।