खोइ ? जोगिरा सरररर…

नेपालगञ्ज – माधुर्य र प्रेमभाव भएको होली गीत गाउने मानिसको अभावको कारण गीत लोप हुँदै गएको छ । वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईका घर, गाउँ, टोल र छिमेकमा गाइने होली गीत गाउने मानिसको अभावमा गुञ्जन छाडेका छन् ।
‘बा“केमा बसोबास गर्ने अवधि समुदायका नागरिकको घर, गाउ“, टोल, छिमेकमा गाइने माधुर्यता र प्रेमभावपूर्ण होली गीत फागु शुरु हुनुभन्दा महिना दिन अगावैबाट गुञ्जन्थे विगत सम्झदै साहित्यकार सनत रेग्मी भन्नुहुन्छ, ‘अहिले त होली आए-नआएको पत्तो नै हुन्न् ।’
मृदंग ढोल, डम्फु बजाई फागु गीत जोगिरा, धमार गाउने चलन थियो । जोगिरा गाउन जान्ने अधिकांश पाका पुस्ताको मृत्यु भइसकेको छ । जोगिरा, धमार गीत गाउने पुस्ताको अन्त्य हुनु र नयाँ पुस्ताले भाका हाल्न नजान्दा होली गीत लोप हुन थालेको नेपालगञ्ज त्रिभुवन चौकका ध्रुवप्रसाद बैश्य बताउनुहुन्छ । पहिलेपहिले अवधि समुदायका नागरिकको बसोबास हुने गाउँघरमा जोगिरा, धमार गीत गाउदै फागु पर्वको आगमन भइसकेको छ भन्ने जानकारी दिने गरिन्थ्यो । तर अहिले यो समूदायका धेरै युवाहरुले पुख्र्यौली मृदंग बजाई गाउने जोगिरा, धमार गीतहरु भुल्न थालेका छन् ।
अवधि साहित्यकार विष्णुलाल कुमाल यसको कारण संस्कृति पुस्तान्तरण हुन नसकेको तर्क गर्नुहुन्छ । धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ ।
फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् । पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । समाजका विकृति र विसंगतीविरुद्ध कटाक्ष गरिन्थ्यो । तर अहिले त्यो हराइसकेको साहित्यकार कुमालको बुझाइ छ । ‘अब उच्छृङ्ल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ, उहाँ भन्नुहुन्छ, ‘त्यसैको प्रभावले होलीको उल्लास हराउँदै गएको छ ।’ होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमंग, उर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, पिरती तथा उन्मुक्ति लुकेको पाइए पनि उच्छृङ्खल गीतहरूले लोप हुने अवस्थामा पुगेको जानकारहरु बताउ“छन् । नेपाली होली गीतको तुलनामा भोजपुरी, मैथली र अवधी भाषामा होली गीतको संख्या धेरै छ । तर रेकर्ड गरिएका वा अवधी भाषाका परम्परागत गीत संरक्षणको लागि नयाँ पुस्ता अग्रसर नभएको पाको पुस्ताको गुनासो छ ।


error: यो सुविधा उपलब्ध छैन !