पीएम कप भलिबल : ह्याट्रिक नजिक एपीएफ
नेपालगञ्ज – डिफेन्डिङ च्याम्पियन एपीएफ क्लव नेपालगञ्जमा जारी प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
एपीएफले ह्वाङवाङ्जी न्यू डायमण्ड एकेडेमीलाई सोझो सेट पराजित गरेर फाइनलमा पुगेको हो । एपीएफले २६–२४, २५–१७ र २५–१८ को सेटमा न्यू डायमण्डलाई पाखा लगायो । पहिलो सेटमा कडा टक्कर दिएको न्यू डायमण्ड त्यसपछिको सेटमा प्रतिस्पर्धामा आउनै सकेन । न्यू डायमण्डका स्टार खेलाडी प्रतिभा माली नहुँदा टीम कमजोर देखियो । प्रतियोगिताको दाबेदार मानिएको एफीएममा पनि स्टार खेलाडी सरस्वती चौधरी नेपालगञ्ज आएकी छैनन् । माली र चौधरी दुवै घाइते छन् ।
नेपालगञ्ज रंगशालाको कभर्ड हलमा चलिरहेको प्रतियोगिताको उपाधीका लागि एपीएफले त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले यसअघिका दुई संस्करण जितिसकेको छ । फाइनलमा पुगेर प्रधानमन्त्री कप ह्याट्रिकको नजिक पुगेको छ ।