नयाँ–नयाँ प्रविधि हेर्न इन्फोटेक जाने की ?

नेपालगञ्ज – नेपालगञ्जमा क्यान इन्फोटेक शुरु भएको छ । इन्फोटेकको ५ नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्तिले उद्घाटन गर्नुभयो ।
कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) बाँकेले आयोजना गरेको ५ दिने इन्फोटेकको उद्घाटन गर्दै सभामुख घर्तिले विज्ञान र प्रविधिको राम्रा र नराम्रा पक्षको चर्चा गर्नुभयो । ‘विज्ञान र प्रविधिमा अगाडि रहेका देशले विकासमा छिट्टै फड्को मारेका छन् । हामीले पनि विज्ञान प्रविधिमा जोड दिनुपर्छ, सभामुख घर्तिले भन्नुभयो, प्रविधिले राम्रो मात्रै होइन, नराम्रो पनि गरेको छ । यसतर्फ सचेत रहनु पर्छ ।’
नेपालमा दु्रतगतिमा बढेको इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगप्रति लक्षित गर्दै सभामुख घर्तिले यसले परिवार विखण्डन र बालबालिकालाई बिगारिरहेको बताउनुभयो । ‘बच्चाले मोबाइल बिगार्यो भने बनाउन सकिन्छ । तर, मोबाइलले बच्चा बिगार्यो भने सुधार्न साह्रै गाह्रो हुन्छ, घर्तिले भन्नुभयो, प्रविधिको सही प्रयोग गरौं ।’
क्यान महासंघका अध्यक्ष नवराज कुँवरले प्रविधिमा जोड दिएर अघि बढ्नु पर्ने बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, क्यान बाँकेका अध्यक्ष रमणीप्रसाद शर्मा, उपाध्यक्ष शिशिरनारायण श्रेष्ठलगायतले क्यान इन्फोटेक यस क्षेत्रका बासिन्दालाई प्रविधितर्फ आकर्षित गर्ने बताउनुभयो
प्रदर्शनी देखि २४ गतेसम्म सञ्चालन हुनेछ । ९० वटा प्रदर्शनी स्टल रहने इन्फोटेकमा २० देखि ३० करोडको कारोबार हुने क्यान बाँकेका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !