नरैनापुरमा जयकिसानको सान

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालन भएको नरैनापुर गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जयकिसान मावि प्रथम भएको छ । छात्रतर्फको १५ सय मिटर दौडमा बाहेक सबै इभेन्टमा जयकिसान मावि प्रथम भएको हो ।
प्रतियोगितामा महेन्द्र मावि, मटेहिया दोस्रो र आदर्श मावि, लक्ष्मणपुर तृतिय भएका छन् । अनुशासनतर्फ भने आदर्श मावि उत्कृष्ट भएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले प्रथम, द्वितिय तथा तृतिय स्थान हासिल गर्ने विद्यालय र विद्यार्थीहरुलाई शिल्ड प्रदान गर्नुभएको थियो ।
प्रथम र द्वितिय भएका खेलाडीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने जयकिसान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
वडा नम्बर ६ भोजपुरस्थित जयकिसान माविको प्राङ्गणमा शुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका तीन वटा माविका कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिएका थिए । तीन विद्यालयका ८९ जना विद्यार्थी सहभागी प्रतियोगितामा सय मिटर दौड छात्रछात्रा, दुई सय मिटर दौड छात्रछात्रा, लङजम्प, हाईजम्प, कबड्डी, भलिबल लगायत १५ इभेन्ट सञ्चालन गरिएको थियो । प्रतियोगिताको बाँके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वरजंग गहतराज अथकले उद्घाटन गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !