बालविवाह गरे ठाउँको ठाउँ कारबाही

भीष्म लोध (नेपालगञ्ज) – कानूनलाई चुनौती दिदै १६ वर्षमा विवाह गर्न पाउनु पर्ने आवाज उठिरहेको बेलामा नेपालगञ्जमा बालविवाहका बारेमा प्रहरी, धर्मगुरु र अभिभावकका बीचमा छलफल भएको छ ।
नेपालको संविधानमा रहेको व्यवस्था, ऐन कानूनमा रहेको सजायका साथै बाल विवाहबाट किशोरीमाथि आइपर्ने समस्या तथा चुनौतीका बिषयमा अवगत गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके तथा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्जको संयुक्त आयोजनामा भएको बाल विवाह नियन्त्रण र न्युनिकरण बिषयक छलफलमा बोल्दै प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बालबालिकाको उमेर नपुग्दै विवाह गर्दा कारबाही हुने बताउनुभयो । उहाँले बाल विवाहले गर्दा बिकासित समुदायमा धेरै समस्या तथा चुनौतीहरु निम्तिने बताउँदै नेपाली सबैले कानूनको पालनामा सहयोग गर्नुपर्ने बताउनुभयो ।
बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीले बालबालिकाको पहिलो अभिभावक परिवार हुने हुँदा आफ्ना बालबालिकाको भविष्य राम्रो बनाउन अभिभावक स्वय सोच्नुपर्ने बताउनुभयो ।


नेपालगञ्ज वडा नं. ७ का अध्यक्ष जुम्मन खाँ, वडा नं. १२ का अध्यक्ष बुद्धिसागर सुबेदी, वडा नं. १६ का अध्यक्ष हनिफ जोलाहा, मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरी, किशोरी क्लब सञ्जाल बाँकेकी अध्यक्ष मेनुका गिरी, अधिवक्ता बसन्त गौतम, बाल संरक्षण समिति मनिकापुरकी आशा सार्की, कोहलपुर वडा नं. १४ का पण्डित ओमप्रकाश मिश्रा, सामुदायिक सेवा केन्द्रकी अध्यक्ष शशी स्वाँर लगायतले बालबालिकाको उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
बाल विवाहले किशोरीमा मानसिक, शारीरिक, संवेगात्मक असर असर पु¥याउने वक्ताहरुले बताए । कार्यक्रममा सहभागि कतिपयले १६–१८ वर्षमा छोरीको विवाह गर्न पाउनुपर्ने आवाज उठाएका थिए । हुर्कदै गरेकी छोरीलाई राख्न नसकिने भन्दै अभिभावक तथा अगुवाहरुले १६–१८ वर्षमा विवाह गर्न पाउनुपर्ने नियमको माग गरे । नेपालको कानूनमा बाल विवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद तथा ३० हजार जरिवानाको व्यवस्था छ । बाल विवाहमा फौजदारी मुद्दा लाग्ने भएकाले जसले पनि उजुरी गर्न सक्ने व्यवस्था रहेको छ । बिश्वलाई सन २०३० सम्म बाल विवाह मुक्त घोषणा गर्ने लक्ष्य अनुरुप नेपाल सरकारले सोही नीति अवलम्बन गरेको छ । बाँकेमा बाल विवाहबिरुद्ध कार्यदल समेत गठन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !