खजुरामा चल्यो कृषि क्याम्पस
नेपालगञ्ज – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिइरहेको बताउनु भएको छ ।
बाँकेको खजुरामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायअन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको उद्घाटन एवं भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री पोखरेलले खजुरामा कृषि क्याम्पस सञ्चालनमा आएकाले अब यहाँका किसानले खेतबारी बाँझो राख्न नहुनेमा जोड दिनुभयो । ‘कृषि क्याम्पस नै बनिसक्यो । अब यहाँका किसानले पनि त्यसको फाइदा लिनु पर्छ, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, विद्यार्थीले पढ्छन् । विद्यार्थीबाट सिकेर त्यो कुरा किसानले व्यवहारमा देखाउनु पर्छ ।’
मुख्यमन्त्री पोखरेलले कलेजको भौतिक पूर्वाधार र सञ्चालनका लागि केन्द्रबाट जति बजेट आउँछ, त्यति नै प्रदेश सरकारले दिने बताउनुभयो । ‘तपाईहरु विश्वविद्यालय अनुदान आयोगमा जानुस्, त्यहाँबाट जति बजेट ल्याउनु हुन्छ, म प्रदेशबाट त्यति नै व्यवस्था गरिदिन्छु, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, प्रदेशको भरमा मात्रै नबस्नुस् ।’
खजुराको जनता नमूना मावि, सन्तकुटीमा बीएस्सीएजी कक्षा सञ्चालनमा आइसकेको छ । नयाँ भवन बनाउन शुरु गरिएको छ । कृषि कलेज ल्याउन अहोरात्र खटिएका प्रदेश सांसद आइपी खरेलले सबै मिलेर नमूना कृषि क्याम्पसको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले खजुरालाई शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिको विशेष ठाउँ बनाउने अभियान थालिएको बताउनुभयो ।
प्राकृतिक स्रोत व्यवस्थापन कलेजको उद्घाटन तथा भवनको शिलान्यासमा मुख्यमन्त्री आउदा बाजागाजाले सम्मान गरिएको थियो । गाउँलेले नाचगान गरेका थिए ।