छात्रा स्कूलमा किन गएनन् अंग्रेजी शिक्षक ?
नेपालगञ्ज – नेपालगञ्जमा सञ्चालित छात्रा स्कूलका लागि एकजना अंग्रेजी शिक्षक चाहिएको थियो । मेयर डा. धवलशमशेर राणाले एउटा स्कूलमा दुई जना अंग्रेजी शिक्षक रहेको थाहा पाउनुभयो । एकजना अतिरिक्तजस्तै रहेछन् ।
छात्रा स्कूलमा अंग्रेजी शिक्षक चाहिएको बेला उता अंग्रेजीकै अतिरिक्त शिक्षक रहेको पाइएपछि उनलाई ल्याउने प्रयास थालियो । मेयर राणा, उपमहानगरपालिकाको शिक्षा शाखाका प्रमुख गोर्खबहादुर थापाले धेरै कोसिस गर्नुभयो । सक्नु भएन । ती शिक्षकले यति ठूलो ‘पावर’ लगाइदिनु भयो कि मेयर राणाको प्रयास फितलो भयो ।
शिक्षकलाई त्यो स्कूलमा पढाउनु वा छात्रा स्कूलमा पढाउनु फरक थिएन । किनकी, तलव त सरकारले दिने हो । तर, किन हो कुन्नी उहाँले पावर प्रयोग गरेर मेयरको प्रस्ताव अस्वीकार गराउनुभयो ।
सरकारी तलव खाने शिक्षकको अगाडि चुनाव जितेर आएका मेयर अर्थात राजनीतिज्ञ नै पछाडी हट्नु पर्यो । यसले नै देखाउँछ, शिक्षक र राजनीतिको लिगेसी । चुनावका बेलामा भोट हाल्नु पर्ने भएकाले जोसुकैको एउटा पार्टीसँग झुकाव हुन्छ नै । तर, सरकारी तलव खाएर बच्चा पढाउनु पर्ने जागीर खाएका शिक्षकले राजनीति गर्दा शिक्षा क्षेत्र डामाडोल भइरहेको छ भन्ने कुरा पछिल्लो दशकयता बहसको विषय बनिरहेको छ ।
शिक्षकहरुको ठूलो जमघट भएको कार्यक्रममा मेयर राणाले यसो भनिरहदा शिक्षक मुखामुख गरिरहनु भएको थियो । यो प्रसंगसँग जोड्दै मेयर राणाले छात्रा स्कूलमा सरकारी गन्ध आउन नदिने उद्घोष गर्नुभयो । सल्यानीबंगलामा बन्दै गरेको छात्रा स्कूलको सम्पूर्ण रेखदेख, सञ्चालन उपमहानगरपालिकाले गर्ने मेयर राणाले जानकारी दिनुभयो ।
त्यहाँ अहिले दुई करोडको लागतमा १८ कोठे भवन बनिरहेको छ । छात्रा स्कूल हुँदै कलेज बनाउने मेयरको सपना रहेको छ ।
मेयर राणाले बच्चाहरु पढेरै पास हुनु पर्छ । चिट चोरेर होइन भन्दै अहिलेदेखि नै एसएसली र प्लस टुको परीक्षामा कडाई गर्ने सार्वजनिक रुपमा घोषणा गरिसक्नु भएको छ । गतवर्ष प्लस टुको परीक्षामा नेपालगञ्ज उपमहानगरपालिकाको टोली अनुगमन जादा बोराको बोरा चिट फेला परेको थियो । मेयर राणाले भन्नुभयो, ‘हामी हुँदासम्म चिटिङ हुन दिन्नौ ।’