फूल्टेक्रामा क्रिकेट रंगशाला बनाउन सबै ‘लचिलो’

नेपालगञ्ज – नेपालगञ्जमा क्रिकेट रंगशाला बन्ने संभावना बढेर गएको छ । नेपालगञ्ज–६, फूल्टेक्राको जग्गामा सहमति जुट्दै जादा त्यो संभावना बढेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको कार्यदलले गरेका छलफलहरु अति नै सकारात्मक हुँदै जादा फूल्टेक्रामा क्रिकेट रंगशाला बन्ने पक्काजस्तै भएको छ । लामो समयदेखि विवादित रहेको फूल्टेक्राको खाली जमिनमा क्रिकेट रंगशाला बनाउने कुरामा जनप्रतिनिधि, समाजका अगुवाहरु सहमत भएका छन् । विगतमा देखिएको विवादलाई समाधान गर्दै क्रिकेट रंगशाला बनाउने कुरामा सबै एकमत भएको कार्यदलका संयोजक एवं वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमालले जानकारी दिनुभयो ।
कार्यदलले वडा नं. ६ का जनप्रतिनिधिसँग छलफल गरेको थियो । कार्यदलकै सदस्य रहेका ६ नम्बर वडाका अध्यक्ष समीरप्रताप सिंहले क्रिकेट रंगशाला बनाउनका लागि लचिलो भएर अघि बढ्न तयार रहेको बताइसक्नु भएको छ । छलफलमा अन्य सदस्यहरुले पनि त्यस्तै धारणा राखेका थिए ।


कार्यदलले यसअघि केन्द्रीय कर्बला समिति र मुस्लिम अगुवाहरुसँग छलफल गरेको थियो । त्यो छलफल पनि सकारात्मक थियो । कार्यदलका संयोजक हमालले क्रिकेट रंगशाला बनाउने कुरामा सबै पक्ष लचिलो भएकाले उत्साह थपिएको बताउनुभयो । ‘अब फूल्टेक्रामा क्रिकेट रंगशाला बन्छ भन्ने कुरामा म ढुक्क छ, हमालले भन्नुभयो, केही दिनमै उपमहानगरपालिकामा खाकासहितका प्रतिवेदन पेश गर्छौ । क्रिकेट मैदानका लागि आउने पैसा अब फिर्ता जादैन ।’
नेपालगञ्जलाई क्रिकेटको उर्वरभूमि मानिन्छ । महिला क्रिकेटको त शुरुवात नै यहीबाट भएको हो । यही ठाउँमा एउटा क्रिकेट मैदानसम्म नहुनु दुःखद मानिने गरिएको छ । खेलसम्बद्धको लगातारको दबाब र एउटा क्रिकेट मैदानको आवश्यकतालाई बोध गरिएकाले अहिले नेपालगञ्ज उपमहानगरपालिकाले क्रिकेट मैदान बनाउन तातिएको छ । कार्यदलले क्रिकेट मैदान होइन रंगशाला बनाउने भएकाले फूल्टेक्राको खाली ठाउँलाई रोजेको छ । क्रिकेट रंगशाला बन्दा नेपालगञ्जसँगै फूल्टेक्राको विकासमा अझ ठूलो टेवा पुग्ने देखिन्छ । ‘क्रिकेटको शहर बनाउन हामी लागेका छौं । क्यानलाई सबै गतिविधिमा संगै लिएर हिड्ने नीति बनाएका छौं, हमालले भन्नुभयो, सरकारले दिने पैसा र क्यानबाट आउने सहयोगले जग्गाको प्रक्रिया मिल्ने बित्तिकै काम थाल्छौ ।’
कार्यदललाई ११ दिनको समय दिइएको छ । हमालले समयमै प्रतिवेदन बुझाउने गरेर आफूहरुले काम गरिरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !