पर्यापर्यटनलाई सघाउन दौडियो आर्मी

नेपालगञ्ज – बाँके बर्दियाको पर्यापर्यटनलाई सघाउने उद्देश्यले नेपाली सेनाले पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा प्रकृति संरक्षण हाफ म्याराथन आयोजना गरेको छ ।
नेपाल पर्यटन बर्ष २०२० लाई टेवा पुर्याउने हेतुका साथ सेना दिवसको अवसर पारी शनिबार आयोजना भएको हाफ म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भए । उनले २१ किलोमिटर दुरी एक घण्टा ५ मिनेट ४८ सेकेन्डमा पुरा गर्दै ५० हजार नगद प्राप्त गरे । सेनाकै जितेन्द्र दनुवार द्वितीय र सुवास कार्की तृतीय भए । जितेन्द्रले एक घण्टा सात मिनेट दुई सेकन्ड तथा सुवासले १ घण्टा ७ मिनेट र ४ सेकेन्डमा दौड पुरा गरेका थिए । उनीहरुले क्रमश ३० हजार र २० हजार नगदबाट पुरस्कृत भए ।
श्री ४ नम्बर बाहिनी अड्डा बाँकेका बाहिनीपति सहायक रथी सुरेशकुमार बानियाका अनुसार, सेना र नागरिकबीच सम्बन्ध बिस्तार गर्न हाफ म्याराथन आयोजना गरिएको थियो ।


‘नेपाली सेना अहिले समुदायमा कसरी सहयोगीको रुपमा अघि बढिरहेको छ र आगामी दिनमा अझै कसरी अघि बढ्न आवश्यक छ भन्ने कुरालाई आम नागरिकमाझ स्थापित गर्न यो कार्यक्रम आयोजना गरेका हौं ।’ सहायक रथी बानियाले भन्नुभयो–‘यसका साथै प्रकृति संरक्षणका क्षेत्रमा सेना गम्भीर छ, साथै सरकारले तय गरेको भ्रमण बर्षलाई सघाउन सेना तल्लीन छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम राखेका हौं ।’
बर्दिया निकुञ्ज सुरक्षार्थ शिव दल गणको आतिथ्यतामा भएको प्रकृृति संरक्षण हाफ म्याराथन अन्तर्गत समावेश १० किलोमिटर पुरुष दौडमा नन्दनाथ योगी, माधवकुमार चौधरी र ओमप्रसाद रोकाय तथा महिलातर्फ शिवकुमारी थारु, अन्जु थारु र कञ्चन चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद प्राप्त गरे ।
त्यस्तै ५० बर्षमाथिका उमेरसमुहको ५ किलोमिटर दौडमा पठनिया थारु, चक्र बहादुर थारु र नारायण पाण्डे शीर्ष तीन स्थान हासिल गर्दा पाँच हजार, तीन हजार र दुई हजार नगदबाट पुरस्कृत भए । यसै अवसरमा साइकल दौड पनि आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
बिभिन्न विधाका विजयी खेलाडीहरुलाई बाँके जिल्लाका मुख्य न्यायाधीश खडानन्द तिवारी, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, मधुवन नगरपालिकाका मेयर कृष्ण केसी, ठाकुरबाबा नगरपालिका मेयर धननारायण श्रेष्ठ, बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अननाथ बराल, लक्ष्मी बैंकका प्रबन्धक सिद्ध भण्डारी लगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा स्थानीय नागरिक, विद्यार्थी र सेनाका अधिकृत तथा जवान गरी करिब चार सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, ठाकुरबाबा, मधुवन, राजापुर, नगरपालिका, पर्यापर्यटन विकास मञ्चलगायत २५ वटा संघसंस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !