बैकल्पिक शक्ति हुँदै खुद्रा व्यवसायी संघ

नेपालगञ्ज – नेपालगञ्जका खुद्रा व्यवसायीहरुले व्यवसायीको हकहित संरक्षणका हिसावले आगामी दिनमा बैकल्पिक शक्तिको रुपमा स्थापित हुने उद्घोष गरेका छन् ।
तयारी कपडा, ब्याग, जुत्ताचप्पल तथा खुद्रा व्यवसायी संघ, बाँकेको दोस्रो र तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनमा व्यवसायीहरुले अन्य बस्तुगत संगठनहरुसँग समन्वय र सहकार्य गर्दै नेपालगञ्ज उद्योग बाणिज्य संघको विधानमा समय सापेक्ष संशोधन गर्ने विषयमा एक ढिक्का भएर जाने बताएका छन् ।
खुद्रा व्यवसायीहरुले हकहित संरक्षणको कुरा गरिरहदा बैंकले गर्ने मनोमानी, खुल्ला सीमानाको चरम दुरुपयोग, चोरी निकासी, अस्वस्थ प्रतिस्पर्धा र राज्यको दोहोरो कर नीतिले मारमा परेको गुनासो गरेका छन् । ‘व्यवसायीहरुको हकहितका लागि फुटेर होइन, जुटेर अगाडि बढ्नु परेको छ, व्यवसायीहरुले भनेका छन्, सरकारी निकायबाट विभिन्न बहानामा व्यवसायीलाई आक्रान्त गर्ने कार्यले पीडित हुनु परेको अवस्थामा सबै व्यवसायीहरु एकजुट हुनुपर्ने आवश्यकता छ ।’
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायिक हकहितको सवालमा सबै एकजुट भएर अघि बढ्नु पर्ने बताउनुभयो ।


संघका अध्यक्ष भीमबहादुर रानाभाटले अहिलेसम्मका गतिविधि र भावी कार्ययोजनाका बारेमा बुँदागत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष रानाभाटले संस्थाको आर्थिक अवस्थालाई सुदृढ पार्दै आगामी वर्ष भैपरी राहत कोष स्थापना गर्ने र त्यो रकमबाट भैपरी आउने घटनामा परेका संघका सदस्यलाई राहत स्वरुप सहयोग उपलब्ध गराउने बताउनुभयो । उहाँले १४ बुँदे भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र एसपी वीरबहादुर ओली उपस्थित भएको साधारण सभा तथा अधिवेशनमा दुई व्यवसायीलाई सम्मान गरिएको थियो । ४० वर्षदेखि पाल्पाली ढाकाटोपीका पसल गरेका कृष्णप्रसाद कँडेल र दश रुपैयामा खाना खुवाइरहेका नरेशकुमार अग्रवाललाई सम्मान गरिएको थियो । संघले नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई पनि सम्मान गरेको थियो ।
यसैबीच, अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मति चयन गरेको छ । शिवप्रसाद दाहाल अध्यक्ष चुनिएका छन् । उपाध्यक्षमा हिमनाथ पौडेल र प्रतिमा लम्साल, सचिवमा युवराज काफ्ले, सहसचिवमा रुक्मिणी भारती र नेत्रबहादुर बन्जारा कोषाध्यक्ष भएका छन् ।
सदस्यहरुमा विकास थापा, विष्णुमाया मल्ल, केदार दाहाल, ललित कडायत, शान्तराज हमाल, विजयकुमार गुप्ता, सन्जु श्रेष्ठ, सन्तोषकुमार बजगाई, अनन्तराम अर्याल, सुशील पोखरेल रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !