कोइराला भन्नुहुन्छ, ‘पार्टीभित्र नैतिकताको खडेरी’

नेपालगञ्ज – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र नैतिकताको धरातल खस्किएको बताउनु भएको छ ।
पार्टीलाई उचाइँमा पुर्याउन नैतिकताको खाँचो परिरहेको कोइरालाको भनाइ थियो । नेपाली कांग्रेस, बाँकेले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले भन्नुभयो, ‘नैतिकताको त्यो लडाईका लागि म तपाईहरुको साथमा छु, नेपाली कांग्रेसलाई हामी पुरानो अवस्थामा फर्काउन सक्छौं, जबसम्म नैतिकतालाई माथी लैजान सक्दैनौं, तबसम्म नेपाली कांग्रेस कमजोर हुन्छ ।’ विपी कोइराला, गणेशमान सिंहलगायत नेताले नैतिकताको लडाई लडेको स्मरण गराउँदै कोइरालाले अहिले पार्टीमा नैतिकताको अभाव देखा परेको बताउनुभयो ।
कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा आफु नेतृत्वमा आउने संकेत पनि गर्नुभयो । कोइरालाले थप्नुभयो, ‘म अब तपाईहरुलाई कुनै किसिमको अन्याय हुन दिन्न । राजनीति गर्ने ब्यक्तिमा संस्कार र नैतिकता चाहिने बताउँदै पार्टीमा अहिले नैतिकताको ह्रास भइसकेको छ ।’ अहिलेसम्म पार्टी नेतृत्वमा आएका ब्यक्तिले आफ्ना कालखण्ड बिताइसकेको भन्दै अब नयाँ अनुहार पार्टी नेतृत्वमा आउनुपर्ने कोइरालाले धारणा राख्नुभयो ।
कांग्रेस केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले वर्तमान सरकारले जनतालाई उधारो आश्वासन मात्रै दिएको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र समृद्धिको नारा दिएर जनतालाई झुक्याएको बताउनुभयो । कांग्रेसको आसन्न महाधिवेशनमा सक्षम नेतृत्व ल्याउनुपर्ने गिरीको भनाई थियो । ‘पार्टीलाई बलियो बनाउन सक्षम नेतृत्वको आवश्यकता छ, गिरीले भन्नुभयो ।
अर्का केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेस कमजोर हुँदा देश कमजोर हुने बताउनुभयो । नेपाली कांग्रेसलाई अगाडी बढाउनका लागि अब पार्टीभित्रैबाट नयाँ डाक्टर खोज्नुपर्ने केन्द्रिय सदस्य भण्डारीले जोड दिनुभयो ।
नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला र क्षेत्रीय स्तरका नेता, कार्यकर्ताले विभिन्न सुझाव तथा गुनासो राखेका थिए ।


यसैबीच, कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पाँचौं स्मृति दिवसका अवसरमा बाँकेको डुडुवामा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर ८ सय २९ जनाले सेवा लिएका छन् ।
४ सय ५७ जना आँखाको जाँच गरिएकोमा ६८ जनाको आँखा शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा रिफर गरिएको छ । २ सय ७५ जना कान परिक्षण गरिएकोमा २६ जनालाई रिफर गरिएको छ । शिविरमा ९७ जना महिलाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविर उद्घाटनका क्रममा शेखर कोइरालाले केही बिरामीको स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !