फूल्टेक्रामा क्रिकेट मैदान बनाउन छलफल शुरु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका–६, फूल्टेक्रामा क्रिकेट मैदान बनाउन प्रारम्भिक छलफल थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको कार्यदलले सरोकारवाला सबै पक्षसँग छलफल शुरु गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष एवं क्यानका पूर्व केन्द्रीय सदस्य सुनिलसिंह हमालको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलमा कार्यदलमा वडाध्यक्षहरु वीरेन्द्र शाह, मो. अयुव सिद्धिकी, सफिक बेहना, समीरप्रताप सिंह, कैफुलबरा जोलाह र कार्यपालिका सदस्य इन्दिरा शाही रहेका छन् ।
कार्यदलले शुक्रबार मुस्लिम अगुवा र केन्द्रीय कर्बला समितिसम्बद्धसँग छलफल गरेको छ । कर्बला समिति एवं मुस्लिम अगुवाहरुले क्रिकेट मैदान बनाउनु पर्नेमा जोड दिनु भएको छ । फूल्टेक्रामा करिव दश विगाह जमिन रहेको छ ।
कार्यदलका संयोजक हमालले भन्नुभयो, ‘क्रिकेट मैदान बनाउने कुरामा सबै सकारात्मक हुनुहुन्छ । आजको छलफल पनि क्रिकेट मैदान बनाउन पर्छ भन्नेमा अति नै राम्रो भयो, हामी सबैसँग निरन्तर छलफल गर्छौ ।’
छलफलमा प्रदेश सांसद मो. याकुव अन्सारी, मो. हारुन, अतहर हुसैन फारुकी, केन्द्रीय कर्बला समितिका अध्यक्ष फिरोज हलवाई, फिदा हुसैन, मो. मेराज हलवाई, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा, हरफान सिद्धिकी, मेराज अन्सारी सहभागी हुनु हुन्थ्यो ।
कार्यदलका सदस्य एवं वडा नं. १३ का अध्यक्ष वीरेन्द्र शाहले क्रिकेट मैदान बनाउने पहिलो छलफल अति सकारात्मक भएको बताउनुभयो । कार्यदलले वडाका जनप्रतिनिधि, स्थानीयवासीसँग पनि छलफल गर्दैछ ।
नेपालगञ्ज उपमहानगरपालिकाले कार्यदललाई एघार दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । नेपालगञ्जमा क्रिकेट मैदान नभएकाले छिटो भन्दा छिटो क्रिकेट मैदान बनाउनका लागि जग्गा खोजिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले तदारुकता देखाएकाले फूल्टेक्रामा क्रिकेट मैदान बन्ने संभावना बलियो बनेको क्रिकेटसम्बद्धले बताएका छन् । क्रिकेट सम्बद्धहरु नेपालगञ्जमा क्रिकेट मैदान बनाउनका लागि निरन्तर लागि परेका छन् । प्रदेश सरकारले पैसा दिने बताइरहदा नेपालगञ्ज उपमहानगरपालिकाले जग्गासमेत खोज्न नसकेको चर्चा भइरहेपछि उपमहानगरपालिका कार्यदल नै बनाएर जग्गा खोज्नतिर लागेको छ । फूल्टेक्रा क्रिकेट मैदानका लागि उपयुक्त ठाउँ रहेको बताउने गरिएको छ । त्यहाँ देखिएको विवादलाई मिलाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !